Sajhamanch Archive

धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

Published: (Updated: ) in समाज by .

मोरङ । मोरङ जिल्लाको १२ औं स्थानीय तहको रुपमा धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ ।

जिल्ला खुल्ला दिसामुक्त हुनका लागि सदरमुकामसमेत रहेको विराटनगर महानगरपालिकासहित कटहरी, बूढीगंगा, जहदा र सुनवर्षी खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । यसमध्ये सुनवर्षी नगरपालिका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट अन्तिम गुणस्तर अनुगमन समेत भैसकेको छ भने बूढीगंगा गाउँपालिकाले अन्तिम गुणस्तर अनुगमनका लागि जिल्लालाई पत्राचार गरिसकेको छ ।

गाउँपालिकाको कार्यालयमा बुधबार आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य ज्ञानेश्वर राजवंशीले धनपालथान गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरे । उनले खुल्ला दिसामुक्तको प्रतीक हरियो झण्डा फहराएका थिए । यसैगरी जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश प्रसाद पोखरेल र कार्यक्रमका प्रमुख अतिथि राजवंशीले जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको तर्फबाट गाउँपालिकालाई खुल्ला दिसामुक्तको प्रमाणपत्र प्रदान गरे ।
गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष हरिलाल सिंहले पूर्ण सरसफाइ प्रवद्र्धनका लागि सामुहिक प्रतिवद्धता गरे ।

७ हजार ९ सय १८ घरधुरी रहेको धनपालथान गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ३ हजार १ सय ६६ घरधुरीमा सुरक्षित चर्पीको पहुँच रहेको थियो । अभियानको क्रममा बाँकी ४ हजार ७ सय ५२ घरधुरीमा सुरक्षित चर्पीको निर्माण भै सम्पूर्ण घरधुरीहरुमा सुरक्षित चर्पीको पहुँच पुगेको गाउँपालिकाबाट प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । साविकका पाँच गाउँ विकास समिति मिलेर बनेको धनपालथानमा सोराभाग, दादरबैरिया र अमाहिवरियातीमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सामुदायिक विकास समाजले र कदमाहामा प्लान नेपालको सहयोगमा सि.एस.डि.सी.ले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेका थिए ।

गाउँपालिकाको पूर्ण सरसफाइ मार्गदर्शनको तयारी
धनपालथान गाउँपालिकाले सरसफाइ अभियानको निरन्तरताका लागि पूर्ण सरसफाइ मार्गदर्शन तयार गरेको छ । मार्गदर्शनमा पूर्ण सरसफाइका सूचक, रणनीति र समग्र विकास प्रक्रियामा पूर्ण सरसफाइलाई मूलप्रवाहीकरण गर्नका लागि अपनाउनुपर्ने रणनीतिको बारेमा विस्तृतमा उल्लेख गरिएको छ ।

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतामा सुधार ल्याउनका लागि नेपाल सरकारले जारी गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरुप विद्यालय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गर्नुका साथै कार्यविधिमा उल्लेखित मापदण्डअनुरुपको सुविधा विस्तार गर्ने समेत उल्लेख गरिएको छ ।

पूर्ण सरसफाइउन्मुख गाउँपालिका निर्माण गर्नका लागि सम्पूर्ण संघसंस्था, निकाय, वडा, जनप्रतिनिधि र साझेदारहरुको सक्रिय सहभागिता र क्षेत्रगत परिचालनको रणनीति समेत पूर्ण सरसफाइ मार्गदर्शनले तय गरेको छ ।

मार्गदर्शनको आधारमा गाउँपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना तयार गर्नुका साथै वडास्तरको विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउने जानकारी खुल्ला दिसामुक्त घोषणा प्रतिवेदन प्रस्तुतीको क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइँटेलले दिए ।

सामाजिक समृद्धिमा जोड
खुल्ला दिसामुक्त घोषणा समारोहका वक्ताहरुले खुल्ला दिसामुक्त घोषणासँगै सामाजिक समुन्नतिका अभियान सञ्चालन गर्न गाउँपालिकालाई सुझाव दिए ।
“हामीले खाद्य बस्तुसँगै विषादी समेत खाइरहेका छौं”, कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानेश्व राजवंशीले भने, “अब गाउँपालिकालाई रासायनिक मल र रासायनिक विषादीमुक्त समेत बनाउनु आवश्यक छ ।”

उनले सुत्केरी मृत्युदर र बाल मृत्युदर शून्यमा झार्नेगरी नीति कार्यक्रम ल्याउन गाउँपालिकालाई सुझाव दिंदै त्यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश प्रसाद पोखरेलले पूर्ण सरसफाइ अभियानको निरन्तरतामा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष नसिमा वानुले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रकाशकुमार साह, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्मा, सामुदायिक विकास समाजका अध्यक्ष गंगाप्रसाद यादव, वडा नं. ५ का अध्यक्ष गयानन्द सरदार, कर्मचारीहरु तारा पन्त र सन्तोष साह, शिक्षक महासंघ धनपालथानका अध्यक्ष रुद्रानन्द चौधरी, गाउँपालिकाका कर्मचारी चिरञ्जीवी वन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *