Sajhamanch Archive

दुहबी अझै अशान्त, गृहमन्त्रीको प्रतिबद्धता नआएसम्म शव नबुझ्ने आफन्तको अडान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर ।  सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ मा फिदा हुसेको हत्या भएपछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन । सुनसरीको दुहबी, इनरुवा तथा लौकहीमा आन्दोलित मुस्लीम अगुवाहरूले बन्द गराएका छन् ।

उनीहरूले पूर्वबाट पश्चिम जाने सवारीका साधनहरू संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बुधवार बिहान साढे ६ बजे घरबाट श्रीमतीसँग मर्निङ वाकमा निस्किएका इटा उद्योगका व्यवस्थापक समेत रहेका फिदाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै दुहवी बजार बन्द गरिएको हो ।

त्यस्तै मृतकका आफन्तले गृहमन्त्री आएर हत्यारालाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता नजनाउँदासम्म शव नउठाउने बताएका छन् । मृतकका समर्थकले गरेको बन्दका कारण विराटनगरबाट पश्चिम छुट्ने सबै सवारी साधनहरू विराटनगरमै थन्कीएका छन् भने पूर्व जाने सवारीहरू विराटचोक निस्किएर गएका छन् ।

फिदाको शव अझै उठेको छैन । २४ घण्टाभित्र हत्यारा पत्ता लगाउन मृतकका आफन्तले माग गरेकोले असहज भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती बताए ।  मृतकका आफन्तसँग छलफल भएपनि उनीहरू आफ्नो अडानमा रहेको र बन्द खुलाउने र शव उठाउने बिषयमा जिल्ला तहका नेताहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।

अवस्था असामान्य भए कफ्र्यू लगाउने अवस्थामा जिल्ला सुरक्षा  समिति पुगेको छ । दुहबीको बन्दको क्रम जिल्लाका इनरुवा तथा लौकहीसम्म पुगेपछि घटनालाई थप उतेजित हुन नदिनको लागि जिल्ला सुरक्षा समिति उच्च सतर्कताका साथ रहेको जनाइएको छ ।

अवस्थालाई सामान्य रुपमा ल्याउनको लागि कफ्र्यू लगाउने कि भन्ने बिषयमा पनि सुरक्षा समिति भित्र छलफल भइरहेको सुरक्षा श्रोतले बतायो, तर निर्णय भने भएको छैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *