पहिला प्रवक्तामा लफडा अब महामन्त्रीमा भिडन्त
Published:
by .
काठमाडौं । कांग्रेस प्रवक्तामा गगन थापाको नियुक्ति हुने बजार हल्ला चलिरहेका बेला सभापति शेरबहादुर देउवाले ‘झापा गोटी’ चाल्दै विश्वप्रकाश शर्मालाई नियुक्त गरे । त्यसबेला नेता कृष्ण सिटौलासँग देउवाको सम्बन्ध चिसो बनिरहेको थियो । शर्माको नियुक्तिपछि देउवालाई सघाएका सिटौलाले कांग्रेसमा फरक धार र गुट स्थापना गरे ।
थापा सिटौला क्याम्पका महामन्त्री पहिला पनि उठेका थिए । देउवालाई सघाएको व्याजका रूपमा थापालाई प्रवक्ता बनाउन सिटौलाको माग थियो । तर, त्यसो हुन सकेन । अब देउवा सत्ता ढाल्नका लागि कोइरालालगायत अन्य दोस्रो तहका नेतासँग सहकार्य गरिरहेका सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिँदैछन् भने महामन्त्रीमा थापालाई नै अघि सार्नेछन् ।
विधान परिवर्तन गरी तीन महामन्त्रीको परिकल्पना गर्ने कांग्रेसको तयारी छ । जहाँ देउवा पुन सभापतिको उम्मेदवार बन्दै शर्मालाई महामन्त्रीमा उठाउने तयारीमा जुटेको उच्च स्रोतले जनायो ।
समकालिन राजनीतिमा कांग्रेसमा थापा र शर्मालाई आजको पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चित्रण गरिन्छ । कांग्रेस राजनीतिमा शर्मा सिनियर भए पनि थापाले सार्वजनिक पद, चुनाव र राष्ट्रिय राजनीतिमा अनेक भूमिका पाइसकेका छन् ।
झापामा शर्मा र सिटौलाको राजनीतिक युद्ध कायम नै छ । शर्माले प्रतिनिधि सभाको चुनावमा पराजय भोेगेका छन् । तर, थापा आफ्नो क्षेत्रमा निर्वाचित हुन सफल भए ।
भद्रगोल अवस्था रहेको कांग्रेसमा युवाहरूको फरक गुट बनिरहेको थियो । त्यसबाट शर्मालाई अलग गराउन देउवाले प्रवक्ताको जिम्मेवारी दिएका थिए । अहिले चन्द्र भण्डारी, धनराज गुरुङलगायतका नेताले युवाको अर्को गुटलाई चलायमान बनाउने काम गरिरहेका छन् ।
‘महाधिवेशनसम्म पुग्दा के हुन्छ थाहा छैन । तर, अहिलेको तयारी सभापति देउवाको मनोपोली रोक्नमा सबै एक छन्’, एक नेताले भने,‘त्यसमा शर्मा छैनन् तर थापा सक्रिय देखिएका छन् ।’
यता, दोस्रो तहका नेताको विभाजित राजनीतिका कारण शर्मा र थापाको भिडन्तको तयारी पनि भएको हो । संस्थापनइतरमा रहेका शर्मा देउवा क्याम्पमा प्रवेश गर्नु र देउवाक्याम्प छाडेर थापा सिटौला गुटमा प्रवेश भएका थिए ।
‘प्रवक्तामा गरिएको कुटील राजनीतिको जवाफका लागि पनि महाधिवेशनमा महामन्त्रीको भिडन्त गराउने तयारी भएको हो’, स्रोतले भन्यो,‘कांग्रेसमा यी दुई सम्भावना बोकेका नेता मध्ये एकजना मात्र माथि तानिने निश्चित छ ।
दैनिक नेपालबाट ।
Comments