Sajhamanch Archive

प्रदेश नम्बर १ : संसद सचिबालयका महत्वपूर्ण काम प्रभावित

Published: (Updated: ) in प्रदेश तह by .

बिराटनगर । संघीय सरकारले धमाधम कर्मचारी सरुवा गर्दा प्रदेश नम्बर १ को संसद् सचिवालयको काम कारबाही नराम्ररी प्रभावित बनेको छ ।

उसै त कर्मचारीको अभाव रहेको सचिवालयमा उच्च तहका कर्मचारी सरुवा हुने क्रम नरोकिँदा सचिवालयका महत्वपूर्ण काम नराम्रोसँग प्रभावित बनेका हुन् ।

प्रदेश नम्बर १ को संसद सचिवालयमा कर्मचारीको अभाव खड्किएको छ ।

त्यसमा पनि सचिवालयमा उच्च तहका कर्मचारीको अभाव हुँदा कामचलाउ रुपमा दैनिक प्रशासन चल्दै आएको छ ।

लामो समयसम्म सचिवको पद रिक्त हुँदै आएकोमा उक्त पदमा सरकारका सचिव डा बासुदेव शर्मालाई ल्याइएको थियो तर एक सातामै उनको सरुवा भएपछि अहिले सचिवको पद रिक्त छ ।

त्यति मात्र होइन उपसचिव लोकबहादुर भण्डारीले कामचलाउ सचिवको काम गरिरहेका थिए तर संघीय सरकारले उपसचिव भण्डारीसहित अर्का उपसचिवलाई पनि सरुवा गर्दा सचिवालयमा अधिकृतस्तरभन्दा माथिका कर्मचारी नै छैनन् ।

संसद सचिवालयका सूचना अधिकृत अम्बिका नेपाल उच्च तहका कर्मचारी नहुँदा महत्वपूर्ण निर्णयका कामहरु बन्द हुन पुगेको बताउछन् ।

त्यस्तै प्रदेश नं एक का सभामुख प्रदीपकुमार भण्डारीले संघीय सरकार गम्भीर नहुँदा संसद सचिवालय जस्तो कार्यालयमा कर्मचारी अभाव झेल्नु पर्दा समस्या भएको बताए । सचिवालय सचिवविहीन हुँदा प्रदेशको संसद बैठक समेत प्रभावित भएको सभामुख भण्डारीको भनाइ छ ।

कर्मचारी बिना कार्यालयमा काम नहुने भन्ने जान्दाजान्दै पनि आवश्यक कर्मचारीको प्रबन्ध गर्न नसक्नुले सरकार नै दोषी देखिएको छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *