Sajhamanch Archive

भूकम्प पीडितलाई वितरण गरिएको अनुदान रोकियो

Published: in समाज by .

ओखलढुंगा । ओखलढुंगामा भूकम्प पीडितलाई वितरण गरिँदै आएको व्यक्तिगत आवास पुनःनिर्माणको अनुदान रोकिएको छ ।

दाताले प्रतिबद्धता गरेको रकम नआएपछि भूकम्प पीडितले व्यक्तिगत आवास अनुदानको रकम आएका छैनन् ।

नेपाल सरकारलाई उपलब्ध गराएको रकम यसअघि खर्च भएपछि किस्ता लिन निवेदन दिएका भूकम्प पीडितले रकम नपाएका हुन् । पहिलो किस्ताबापतको रकम खर्च भइसकेको र अन्य किस्ता रकम नआएपछि महालेखा परीक्षकको कार्यालयले भूक्तानी रोकेको छ ।

पुनःनिर्माण प्राधिकरणको जिल्लास्थित कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई मापदण्ड पूरा गरेर अनुदानको किस्ता लिन योग्य भूकम्प पीडितहरुको भुक्तानी आदेश पठाए पनि निकासाको फुकुवा नआएपछि भुक्तानी हुन सकेको छैन ।

फुकुवा आएको रकम गएको असोजमै खर्च भइसकेको र थप भुक्तानीका लागि फुकुवा नआएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख राजन फुयाँलले निकासा फुकुवा नआएका कारण भुक्तानी आदेश कार्यान्वयन नभएको बताउनुभयो । ‘दाताले दिएको रकम सकिएपछि महालेखाले भुक्तानी फुकुवा गरेको छैन, प्राधिकरणले पहल गर्ने विषय भएकाले जिल्लामा केही गर्न सकिँदैन’, फुयाँलले भन्नुभयो । उहाँका अनुसार दाताको प्रतिबद्धता अनुसारको रकम नभएकाले महालेखाले फुकुवा रोकेको हो ।

जिल्लामा दुई महिनादेखि एक हजार पाँच सय भूकम्प पीडितले किस्ता पाउने मापदण्ड पूरा गरेर भुक्तानी आदेश बनेको छ । यसमध्ये ४ सय २६ जनाको भुक्तानी आदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा पुगे पनि फुकुवा नआएकाले रोकिएको हो ।

भुक्तानी रोकिएको विषयमा कुरा गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेलाई पटक–पटक टेलिफोन गरे पनि सम्पर्कमा आउनुभएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *