Sajhamanch Archive

यो सरकार जुम्रा मार्न र सिन्को भाँच्न बनेको होइन : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताउनुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘सरकार हरायो कहाँ छ भनेर पत्रपत्रिकामा कसैले सोधेछन् । कसैले सरकारले सिन्को पनि भाँचेन भनेको सुनियो, कसैले जुम्रा पनि मारेन सरकारले भन्ने पनि सुनियो’, उहाँले भन्नुभयो, ‘यो सरकार जुम्रा मार्न पनि होइन, अनि सिन्का भाँच्न पनि होइन यो त देश बनाउनका लागि हो ।’

सरकार खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले अझै देख्नु भएन भनेर प्रतिप्रश्न पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार देख्नुभएन भने चस्मा लगाउनु पर्दैन, चस्मामा पावर पनि हाल्नु पर्दैन अब त तपाईँले नचाहेर पनि सरकार देख्नु हुन्छ ।’ ‘सरकार कहाँ छ भनेर श्रमजीविलाई सोध्नुस, दुख पाएका लाई सोध्नुस उहाँहरुबाट पाउनु हुनेछ सरकार कहाँ छ भन्ने जवाफ’, उहाँले भन्नुभयो ।

केही दिनमै जता हेर्यो त्यतै सरकार देखिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही दिनमा मेलम्ची काठमाडौं आउँछ त्यसले अर्को जवाफ दिन्छ सरकार कहाँ छ भन्नेहरुलाई । बाटोमा धुलो उड्न कम भएको छ । काठमाडौंको धुलो बढारिन्छ, धोइन्छ अनि थाहा पाउनुहुनेछ सरकार । कलंकी नागढुंगा सडक वर्षौँदेखि बनेको थिएन तर अहिले जानुस् धमाधम बन्दै छ । अब त जता फर्क्यो त्यतै सरकार देख्न थालेपछि आफै चुप लाग्नुहुनेछ ।’

प्रधानमन्त्री ओलीले सरकार श्रमजीवीको साथमा भएको बताउँदै उनीहरुको भविष्य उज्ज्वल बनाउन लागिपरेको बताउनुभयो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *