Sajhamanch Archive

मेचीनगरका १३ वटा वडा खुल्ला दिशामुक्त घोषणा

Published: (Updated: ) in स्थानीय तह, by .

मेचीनगर । शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सवै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने बताएपछि पछिल्लो समय मेचीनगरमा शौचालय निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । नगरका विभिन्न वडाहरु धमाधम खुल्ला दिशामुक्त वडा घोषणा भइरहेका छन् ।

झापा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा सघाउ पुर्याउन मेचीनगर नगरापलिकाले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएकै कारण पछिल्लो समय नगरका विभिन्न वडामा धमाधम शौचालयहरु निर्माण भइरहेका छन् भने १३ वटा वडा खुल्ला दिशामुक्त वडाका रुपमा घोषणा भएका छन् ।

मंसिर १५ गते मेचीनगर नगरपालिकालाई खुल्ला दिशामुक्त नगर घोषणा गर्ने योजना अनुसार प्रत्येकलाई घर घरमा शौचालय बनाउन नगरपालिकाले उर्दी गरेको थियो । नगरप्रमुख विमल आचार्यले झापा जिल्लालाई खुला दिसामुक्त भनेर घोषणा गर्ने मिति पटक पटक पर सारेकोले यसलाई पनि मद्दत पुग्ने तथा तथा आगामी मंसिर १५ गते भत्र मेचीनगर नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गर्ने अभियान सफल पार्न समेत यस्तो निर्णय गरेकोे बताए । अहिले त्यसैका कारण अधिकाँशले शौचालय निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मंसिर १५ गते अघिनै अनिवार्य शौचालय बनाउन नगरवासीलाई अनुरोध गरेको थियो । यदि तोकिएको समयअवधि भित्र शौचालय निर्माण नगरेमा वडा तथा नगरबाट दिने नाता प्रमाणित, जग्गाको चार किल्ला, नागरिकताको सिफारीस, जन्म, मृत्यु, विवाह, बसाई सराईलगायतका सवै सिफारीस तथा सामाजिक सुरक्षा भत्ता समेत रोक्का गर्ने नगरपालिकाले जनाएको थियो ।

मंसिर १५ गते मेचीनगर नगरपालिकालाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा गर्ने तयारी भइरहेको छ । कुल १५ वटा वडा रहेको मेचीनगरमा अब वडानम्बर ६ र ८ खुल्ला दिशामुक्त वडा घोषणा हुन बाकी छन् । ६ नम्बर वडा आगामी १३ गते खुल्ला दिशामुक्त वडा घोषणा हुदैछ भने ८ नम्बर अन्तिम तयारीमा छ ।

मंगलबार वडानम्बर ५ र ७ खुल्ला दिशामुक्त वडा भएको नगरप्रमुख विमल आचार्यले घोषणा गरे । ती वडाहरुले अलग अलग स्थानमा आयोजना गरेको खुल्ला दिशामुक्त वडा घोषणा कार्यक्रममा नगर प्रमुख आचार्यले वडालाई खुल्ला दिशामुक्त वडा घोषणा गरेर मात्र नपुग्ने यसको नियमित अनुगमन शौचालयको प्रयोग गर्नुपर्नेमा जोड दिए । खुल्ला दिशामुक्त वडा घोषणा अवसर र चूनौती दुवै रहेको उनको भनाई थियो । उनले समाजका हरेक व्यक्तिले घोषणालाई प्रभावकार िरुपमा कार्यान्वयन गर्न नियमित अनुगमन गर्न आग्रह गरे ।

उपप्रमुख मिना उप्रेतीले आम नगरवासीलाई शौचालयको प्रयोग गर्न आग्रह गरिन । उनले अधिकाँशका घरमा शौचालय भए पनि धेरैले त्यसको प्रयोग नगरेको अन्य काममा प्रयोग गरिएको बताउँदै शौचालयको प्रयोगले मानिसलाई स्वास्थ्य रहन पनि मद्दत पुग्ने बताईन् । उपप्रमुख उप्रेतीले मेचीनगरवासीलाई असल नागरिकको पहिचान दिन समेत आग्रह गरिन् ।

वडानम्बर ५ का कार्यवहाक वडाध्यक्ष नारायण खडकाले प्रतिवेदन प्रस्तुत गर्दै नेपालको सुदुर पुर्वी जिल्ला झापाको पुर्वी नाकामा अवस्थित साबिक मेचीनगर ८ र ९ वडाहरु समाहित भई हाल मेचीनगर नगरपालिकाको वडा नम्बर ५ भएको जानकारी दिए ।

वडा नम्बर ५ मा १ हजार २ सय घरधुरी रहेको यस वडालाई खुल्ला दिशा मुक्त बनाउन बिगतमा यस वडाका राजनीतिक दलका प्रतिनिधिहरु, संघ संस्था, बाल क्लब आदिको उल्लेखनीय योगदान रहेको र नेपाल सरकारले मेचीनगर नगरपालिका मार्पmत यो कार्यक्रम शुरु गरि करिब २० प्रतिशत घरधुरीहरुमा मात्र मापदण्ड पुगेका शौचालयहरु निर्माण भएको यस वडामा जनप्रतिनिधिहरु निर्वाचित भएर आउनु पुर्व ७ सय २० अर्थात ६० प्रतिशत घरधुरीहरुमा मात्र शौचालय निर्माण भएको प्रतिवेदन मार्फत जानाकरी दिए ।

बाँकी ४ सय ८० घरधुरी अर्थात ४० प्रतिशत घरधुरीहरु शौचालय निर्माण नभएको अवस्था रहेको र प्रतिनिधिहरु निर्वाचित भएर आएपछि खानेपानी तथा सरसफाई कार्यालयको निरन्तर अथक प्रयास र निरन्तर अनुगमन गरिरहदा यस वडाका बाँकी ४ सय ८० घरधुरीहरुमा शौचालय निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका फोकल पर्सन रुद्रवहादुर न्यौपाने, शिक्षक कनक कार्की सिमा प्रहरी चौकी नकलबन्दाका प्रहरी सहायक निरीक्षक धनकुमार श्रेष्ठ वडा सदस्य दुर्गा देवकोटालगायतले बोलेका थिए । कार्यक्रममा शौचालय निर्माण समितिका अध्यक्ष केदारजंग भट्टराईलाई सम्मान गरिएको थियो । वडा कार्यालयमा आयोजित कार्यक्रमको सञ्चालन वडा सचिव पवित्रा बस्नेतले गरेकी थिईन् ।

कार्यक्रममा वडालाई खुल्ला दिशामुक्त वडा घोषणाका लागि उल्लेखनिय सहयोग गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्राविधिकहरु शान्ति उपाध्याय, टेकनाथ नेपाल, मोहन लुईँटेल, रुद्र न्यौपाने र प्रमिला पौडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

उता वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख विमल आचार्य, विशिष्ट अतिथि उपप्रमुख मिना उप्रेती, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका फोकल पर्सन रुद्रवहादुर न्यौपाने, ज्येष्ठ नागरिक समाज झापाका उपाध्यक्ष हरिप्रसाद ओली, नेकपाका प्रल्हादमणि ओली, नेपाली काँग्रेसका उत्तम राजवंशीलगायतले घोषणालाई कार्यान्वयन गर्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव शम्भु पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *