Sajhamanch Archive

वीरता जेसीजद्वारा पुस्तकालयलाई दुई सय पुस्तक प्रदान

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । बिर्तामोडस्थित वीरता जेसीजले झापाको कनकाई नगरपालिका–७ स्थित भृकुटी माविको पुस्तकालयका लागि दुई सय थान पुस्तक प्रदान गरेको छ ।

विद्यालयमा बिहीबार आयोजित कार्यक्रमका बीच वीरता जेसीजका अध्यक्ष एकराज गिरी र कार्यक्रम संयोजक टहलदास ओलीले प्रधानाध्यापक अञ्जना सिटौलालाई उक्त पुस्तक हस्तान्तरण गरेका थिए । विद्यालयमा पुस्तकालय भए पनि आवश्यक पुस्तक अभाव रहेका बेला वीरता जेसीजले उक्त पुस्तक हस्तान्तरण गरेको हो । विद्यालयलाई अत्यन्त आवश्यक र उपयोगी पुस्तक प्रदान गरेकोमा प्रधानाध्यापक सिटौलाले धन्यवाद ज्ञापन गर्दै जेसीजको रचनात्मक कार्यको प्रशंसा गरिन् । वीरता जेसीजका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जेसीजका युवा संयोजक टहलदास ओलीले गरेका थिए । विद्यार्थीको तर्फबाट बोल्दै कक्षा १० का छात्र भुवन आचार्यले अब विद्यालयको पुस्तकालयमा आफूहरुले चाहेको पुस्तक पढ्न पाइने भन्दै खुशी व्यक्त गरे ।

विद्यार्थी तथा शिक्षक सबैको लागि उपयोगी हुनेगरी पुस्तकको चयन गरिएको बताइएको छ । विद्यालयले पुस्तकालयका लागि आवश्यक पुस्तकको सूची नै उपलब्ध गराएपछि सोही बमोजिमका पुस्तक हस्तान्तरण गरिएको हो । नेपाली, अंग्रेजी भाषाका कक्षाका कोर्षसँग सम्बन्धित तथा अन्य चर्चित लेखकहरुका राष्ट्रिय तथा विश्व प्रशिद्ध पुस्तकहरु समेत प्रदान गरिएको कार्यक्रमका संयोजक रहेका ओलीले बताए ।

सामाजिक सञ्जाल फेसबुक लगायतमा अहिलेको पुस्ताले बढी समय खर्चिएर पठन संस्कृतिमा ह्रास आउँदै गएको भन्दै वीरता जेसीजका अध्यक्ष गिरीले पठन संस्कृतिको विकास र व्यक्तित्व विकासमा टेवा पुर्याउन पुस्तकालयलाई पुस्तक प्रदान गरिएको बताए ।
महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन गरेका थिए । जेसीज आस्था वाचन कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले गरेका थिए ।

विद्यार्थीको प्रार्थना सभामै उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वीरता जेसीजका अध्यक्ष गिरीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । प्रधानाध्यापक सिटौला र व्यवस्थापन समिति सदस्य कुशल न्यौपानेले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरेका थिए भने सम्मानपत्रको वाचन शिक्षक राजेन्द्र सिटौलाले गरेका थिए । गिरी सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

वीरता जेसीजले यस वर्ष पुस्तक दिवसको अवसर पारी मायाको चिनो र उपहार स्वरुप पुस्तक दिने नयाँ संस्कृतिको थालनी गरेको छ भने यसअघि बिर्तामोड–१० स्थित ज्ञानज्योति सार्वजनिक पुस्तकालयलाई तीन सयभन्दा बढी पुस्तक समेत प्रदान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *