Sajhamanch Archive

काबुल आक्रमणका घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । अफगानिस्तानको काबुल आक्रमणमा परी घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको छ । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ । मृतक १० मध्ये ४ विदेशी रहेको बताइए पनि नेपालीको भने ज्यान गएको छैन । घाइते मात्रै भएका छन् ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन । घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।

अफगान अधिकारीहरूका अनुसार, बुधबारको कार बम विस्फोटपछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो । घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

अफगानिस्तानमा नेपालीहरु निसानामा परेको यो पहिलो घटना भने होइन । यसअघि काबुलको एक आक्रमणमा १२ नेपाली मारिएका थिए ।

नेपाल सरकारले रोजगारीका लागि अफगानिस्तान खुला नगरे पनि त्यहाँ ठूलो संख्यामा नेपाली छन् । यद्यपि, यकिन तथ्यांक भने छैन । कार्यरतमध्ये केही सुरक्षा क्षेत्रमा संलग्न रहेको बताइन्छ ।

अनलाइनबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *