Sajhamanch Archive

पैसाबाट छालारोग सर्छ

Published: in स्वास्थ्य by .

स्वास्थ्यप्रति सचेत रहन खोज्नु मानवीय स्वभाव हो । मानिसले जानाजान स्वास्थ्य बिगार्न चाहँदैन ।

उसले सकेसम्म स्वास्थ्य ठीकठाक राख्न खोज्छ । स्वास्थ्यप्रति सचेत रहन खोजे पनि दैनिकजसो गर्ने सानातिना असावधानीले उसलाई गम्भीर समस्याले सताउँछ ।

वस्तु विनिमयका लागि दैनिकजसो प्रयोग गर्ने पैसा नोटबाट समेत मानिसले स्वास्थ्य बिगार्दै गएका छन् ।

नोट प्रयोगको असावधानीले उसलाई छाला रोगले दुःख दिने गरेको छ । यसो भन्दा तपाईं अचम्मित हुनुभयो होला । अचम्मित हुनुभन्दा सचेत हुने प्रयत्न गर्दा लाभदायी हुनेछ ।

‘हामीले प्रयोग गर्ने नोटमा जङ्स, फङ्गल्स र भाइरस टाँसिएका हुन्छन्,’ चर्मरोग विशेषज्ञ डा। ललन खतिवडाले जानकारी गराए, ‘त्यस्ता नोट मानिसको छालामा पर्नसाथ सजिलै जङ्स, फङ्गल्स, भाइरस सर्ने गर्छ ।’

वस्तुबाट वस्तु विनिमय गर्ने युग हुँदै सुन, चाँदी, धातु, पित्तल र तामालाई विनिमयको भरपर्दो माध्यम बनाइएको विगत नेपालीमाझ छिपेको छैन ।

एकताका कौडी विनिमयको गतिलो माध्यम बनेको थियो । हिजोआज त्यसको ठाउँ नोटले लिएको छ । जसले वस्तु विनिमयका लागि सुविधा भएको छ ।

सुविधाले द्विविधा पनि त निम्त्याउँछ भन्ने नेपाली उखान छ । उखान त्यत्तिकै बनेका हुँदैनन् । त्यसमा विवाद गरिरहन पर्दैन ।

‘मासु किन्न मासुपसल पुग्नुभयो भने व्यापारीले मासु काटेकै हातले ग्राहकबाट पैसा लिन्छन्,’ चर्मरोग विशेषज्ञ डा। खतिवडाले उदाहरण पेस गरे, ‘पैसा बढी दिएका छन् भने ग्राहकले फिर्ता लिनैपर्यो ।

त्यस्तो अवस्थामा व्यापारीले मासु काटेकै हातले पैसा फिर्ता गर्छन् । कतिपय पैसा रगतसरी भेटिइन्छन् । त्यस्तो पैसाबाट नजानिँदोपाराले नोट प्रयोगकर्तालाई छालालगायत अन्य रोग सर्न सक्छ ।’

राजा त्रिभुवनले आधुनिक कागजी नोट प्रचलनमा ल्याएको सर्वविदितै छ । कागजका नोट सफा भएन भनेर पोलिमर नोटसमेत प्रचलनमा ल्याइएको थियो । विभिन्न खोट देखाउँदै पोलिमर नोट पनि त्यति धेरै समय प्रचलनमा आएन ।

कागजी होस् या पोलिमर नोट, त्यसको सही सदुपयोग गर्न जानिएन भने अभिशाप हुन्छ । हिजोआज पनि औंलामा थुक्दै पैसा गन्ने प्रचलन छ ।

‘त्यस्तो गर्नेको शरीरमा झन् छिटो छालारोग सर्छ,’ उनले थपे, ‘नोटमा भएका जङ्स, फङ्गल्स, भाइरस जिब्रो हुँदै शरीरमा पुग्छ । त्यतिबेला मानिसलाई टाइफाइड हुन्छ । हैजा लाग्छ । भाइरल इन्फेक्सन हुन्छ ।’

औंला चाट्दै पैसा गन्दा छालाबाट भन्दा छिटो जङ्स, फङ्गल्स, भाइरस सर्छ । त्यसबाट बच्न औंलामा थुक्दै पैसा गन्ने प्रवृत्ति सुधार्नुपर्छ ।

इच्छा भए उपाय कति–कति । पैसा कारोबार गर्नसाथ साबुनपानीले हात धुन बानी बसाल्न सकिन्छ । साबुनपानीले हात धुन सम्भव नभए खरानीपानी प्रयोग गर्दा भइहाल्छ । इच्छाशक्तिमात्रै हुनुपर्छ ।

सम्बन्धित अभिभावकले सकेसम्म बालबालिकालाई नोट दिन हुँदैन । नोट पाएमा बालबालिकाले अञ्जानवश मुखमा पुर्याउँछन् । नोट भन्नासाथ एकबाट अर्काको हातमा पुग्ने वस्तु हो । एकबाट अर्काको हात पुगेको नोट सफा हुने कुरै भएन । त्यस्तो नोट टोक्दा बालबालिकासमेत अस्वस्थ हुन्छन् ।

नेपालको सन्दर्भमा सम्भव नहुन सक्छ । तर, ‘क्यासलेस सिष्टम’ प्रभावकारी कार्यान्वयन गर्न सके नोटबाट सर्ने विभिन्न किसिमका रोगबाट टाढा रहन सकिने चर्मरोग विशेषज्ञहरूको धारणा छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *