Sajhamanch Archive

भद्रपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा

Published: in समाज by .

भद्रपुर । झापाको सदरमुकाम रहेको नेपालको ऐतिहासिक सहरको पहिचान बनाएको भद्रपुर नगरपालिकालाई खुला दिसामुक्त नगरका रूपमा घोषणा गरिएको छ । जिल्ला स्वच्छता समन्वय समिति झापाले सरसफाई मापदण्ड पूरा गरेको ठहर सहित स्वच्छताको प्रमाणपत्र हस्तान्तरण गरेपछि भद्रपुर नगरपालिका खुला दिसामुक्त नगरका रूपमा घोषणा भएको हो ।

९६.३४ वर्ग किलोमिटरमा फैलिएको नगरमा १५ हजार २ सय ७० घरधुरी तथा ६५ हजार ५ सय ३३ जनसंख्या रहेको छ । आदिवासी, जनजाती, मधेसी बाहुल्य ३ वटा वडाहरूका कारण रोकिएको खुला दिसामुक्त अभियान २ वर्ष लामो प्रयासपछि सफलता हात लाग्न भद्रपुर नगरमा ८५ प्रतिशत हाराहारीमा मात्र शौचालय बन्न सफल भएको छ ।

भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा कार्यक्रममा नगरका ३, ४ र ५ नम्बर वडालाई एकैचोटी खुलादिसामुक्त घोषणा गरेपछि नगर खुला दिसामुक्त भएको हो । कार्यक्रममा अभियान सफल बनाउन योगदान दिने दर्जनौं व्यक्ति तथा संघ संस्थालाई नगद सहित सम्मान गरिएको थियो ।

नगरका विभिन्न विद्यालयका विद्यार्थीद्वारा विविध साँस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समितिकी उपप्रमुख मिना पराजुली, नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, टोल विकास संस्थाका प्रतिनिधि उत्तम सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा गतिविधि प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए भने सञ्चालन सामाजिक विकास शाखाका अधिकृत राजन न्यौपानेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *