Sajhamanch Archive

चिकित्सा विज्ञानमा चमत्कारस् सुंगुरको मुटु मान्छेमा प्रत्यारोपण गर्ने सम्भावना

Published: in स्वास्थ्य by .

एजेन्सी। केही समयपछिनै सुंगुरको मुटु मरणासन्न मानिसलाई प्रत्यारोपित गर्न सकिने सम्भावना बढेर गएको छ

विज्ञान कथाजस्तो लाग्ने यो विचार वास्तविकतामा बदलिने सम्भावना एक ऐतिहासिक अध्ययनपछि बढी थथार्थपरक देखिएको छ । यस अध्ययनमा एक प्रजातिको जीवको अंग अर्को प्रजातिको जीवमा प्रत्यारोपित गर्न सम्भव भएको देखिएको छ ।

अनुसन्धानको क्रममा जिनको संरचनाको आधारमा मानिसको एकदमै नजिकको प्रजाति ‘बबुन’लाई एक सुंगुरको मुटु प्रत्यारोपन गरिएको थियो । अझ मुटु प्रत्यारोपित गरिएको ‘बबुन’लाई १९५ दिनसम्म बचाएर जर्मन अनुसन्धानकर्ताहरुले चिकित्सकीय र वैज्ञानिक विश्वलाई आश्चर्यचकित बनाएका छन् ।

वैज्ञानिकहरुले यस अनुसन्धानको प्रशंसा गर्दै ‘ऐतिहासिक’ भनेका छन् । एउटा स्वस्थ मुटु एक प्रजातिको जनावरबाट अर्को प्रजातिको जीवको शरीरमा प्रत्यारोपण गरिनुलाई ‘जेनोट्रान्सप्लान्टेसन’ भनिन्छ ।
लामो समयदेखि यसलाई प्राणघातक मुटु रोग लागेका मानिसहरुको लागि निदानको रुपमा हेरिएको छ ।

मानिसहरुको औसत आयु बढिरहँदा अहिले मुटु प्रत्यारोपणको लागि मुटु कम पाइन थालेको छ । यसले गर्दा मुटु प्रत्यारोपणका लागि सिफारिस भएका बिरामीहरुले लामो समय पर्खनुपरिरहेको छ ।

मुटु प्रत्यारोपण एउटा जटिल शल्यक्रिया हो । यदि प्रत्यारोपण सफल भएन भने बिरामीलाई धेरै दीर्घ समस्या देखिन्छ । यिनै समस्याहरुले गर्दा पछि बिरामीहरुको ज्यान समेत जान्छ । ‘सन् २०३० सम्म अमेरिकामा ८० लाख मानिसहरुमा मुटु फेल हुने अनुमान गरिन्छ । यीमध्ये धेरै आफूलाई प्रत्यारोपित गरिने मुटुको प्रतिक्षा गर्दागर्दै मर्नेछन्,’ बर्लिनमा रहेको जर्मन हर्ट सेन्टरमा कार्यरत डा।क्रिस्टोफ नोसलाले नेचरमा प्रकाशित अनुसन्धान पेपरसँगै छापिएको समाचारमा लेखेका छन् ।

आनुवांशिक बदलाब गरिएको सुंगुरको मुटुलाई यस अभावको सम्भावित समाधानको रुपमा प्रस्ताव गरिएको छ । यसैको लागि अहिले मानिसहरुको अत्यन्त नजिकको प्रजाति ‘बबुन’मा परिक्षण गरिएको हो ।
सुंगुरको जीनमा बदलाब त्यसको प्रतिरोधात्मक प्रतिरोधलाई दबाउन गरिएको हो । दुई फरक जीवबीचमा अंग प्रत्यारोपण गरिएको अवस्थामा जसको शरिरमा अंग दान गरिएको हो, उसको प्रतिरोधात्मक प्रणालीले अंगलाई ठूलो प्रतिरोध गर्ने भएकाले यसो गरिएको हो ।

यसअघि भएका अनुसन्धानहरुमा बबुनलाई ५७ दिनसम्म जीउँदो राख्न सफलता हासिल गरिएको थियो । तर हाल गरिएको बदलाबले म्युनिखमा रहेको लुडवीग–म्याक्सिमिलियन विश्वविद्यालयका वैज्ञानिकहरुको समूहलाई जनावरको जीवन ६ महिनासम्म लम्ब्याउन सहयोग गर्यो ।

बबुनको तीन क्रमागत समुहमा परीक्षण गरेर यस ‘ऐतिहासिक’ अनुसन्धानमा सुधार गरिएको थियो । यो अनुसन्धानमा कुल १६ बबुनको प्रयोग भएको थियो । अनुसन्धानकर्ताहरुले बबुनको अन्तिम समूहमा लामो अवधिको प्रत्यारोपणको सफलता हासिल गरेका थिए ।

यो समूहका बबुनको लागि दान गरिने मुटुलाई प्रत्यरोपण अवधिमा ‘अक्सिजेनेटेड’ गरिएको थियो । वैज्ञानिकहरुले अंगको सबैतिर रक्तसंचार गराएर यस्तो गराएका थिए । यसले प्रत्यारोपित अंग घातक रुपमा फैलिनबाट रोक्यो । यसले गर्दा बबुनको रक्तसंचार न्यून राहिरह्यो । यसका लागि कोषको वृद्धि रोक्ने एक यौगिक पनि प्रयोग गरिएको थियो ।

अन्तिम समूहमा रहेको पाँच बबुनमध्ये चारवटा कम्तीमा पनि ९० दिनसम्म स्वस्थ रहेका थिए । ९० दिनमा प्रयोगको समयावधि सकिएको भएपनि एउटा बबुन १९५ दिनसम्म बाँचेको थियो । ‘यो अनुसन्धान र यसको निष्कर्ष मुटु रोगको अन्तिम चरणमा पुगेका मान्छेहरुको उपचारको लागि सुंगुरको मुटु प्रत्यारोपण गर्ने बाटोतर्फ ऐतिहासिक प्रगति हो,’ युनिभर्सिटी कलेज लन्डनका मुटु शल्यक्रियाका प्रध्यापक क्रिस्टोफर म्याकग्रेगोरले भने । उनी ५७ दिनसम्म बबुन बाँचेको अघिल्लो पटकको अनुसन्धानमा संलग्न थिए ।

“‘द मुनिख ग्रुप’ले प्रकाशित गरेको पेपरले यो परिवर्तनकारी उपचारलाई केही अघि सम्भावनामात्र रहेको अवस्थाबाट यथार्थको निक्कै नजिक ल्याइपु¥याएको छ,” म्याकग्रोभरले भने ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *