Sajhamanch Archive

कालिकोट आगलागी अपडेटः न्यौपाने बस्तीका ८० घर जलेर नष्ट

Published: in राष्ट्रिय समाचार by .

कालिकोट । पलाता गाँउपालिका १ स्थित न्यौपानेबस्तीमा सोमबार बिहान भीषण आगलागी हुँदा ८० घर जलेर नष्ट भएका छन्। आइतबार राति करिब २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइनसकेको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीले बताए।

आगो निभाउने क्रममा १३ जना घाइते भएको उनले जानकारी दिए। ‘आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरी उनीहरूको उपचार भइरहेको छ’, उनले भने। सदमुकामबाट करिब सात घण्टाको पैदलपछि पुगिने खाँडामा भर्खरै मात्र प्रहरी पुगेको कालिकोटका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए। ‘पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकीका प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ’, उनले भने, ‘आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’

१९ गाईगोरु र दुई भैसीँ जलेको खबर आए पनि क्षतिको पूर्ण विवरण नआएको उनले बताए। आगलागी पीडितको राहतका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने वडाध्यक्ष भण्डारीले बताए। उनका अनुसार खाँडामा १६९ घर छन्। सबै घरका छाना खरले छाइएको हुनाले ठूलो क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ। अधिकांश युवा रोजगारीका लागि कालापहाड गएका कारण गाउँमा आगो नियन्त्रणका लागि खटिने जनशक्तिको समेत खाँचो छ। गाउँमा महिला र वृद्धवृद्धा केटाकेटी मात्र छन्। हरेक वर्ष खडेरीको समस्या खेपिरहेको पलातामा आगो नियन्त्रणका लागि पर्याप्त पानीसमेत छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *