Sajhamanch Archive

भद्रपुरमा वडास्तरीय टी–२० प्रतियोगिताको तयारी

Published: in खेलकुद by .

भद्रपुर । विभिन्न विधाका राष्ट्रियस्तरका खेलाडी उत्पादनमा झापाको सदरमुकाम भद्रपुरको योगदान उल्लेख्य रहेको छ । फुटबल, क्रिकेट, एथलेटिक्स, कबड्डी, मार्सलआर्टजस्ता जिल्ला, क्षेत्र तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा भद्रपुरका थुप्रै खेलाडीले सहभागिता जनाउँदै उत्कृष्टता हासिल गरिसकेका छन् ।

अहिलेको युवापुस्तामाझ क्रिकेट खेल निकै लोकप्रिय खेल बनेको छ । युवावर्ग क्रिकेट प्रतियोगिता हेर्न मात्र होइन आफैं खेल्न पनि उत्साहित हुने गरेका छन् । भद्रपुरका युवाको पनि क्रिकेट खेलप्रति निकै उत्साह र चाहना देखिएको छ । उनीहरुको उत्साह र चाहनालाई ध्यानमा राख्दै वडा नं ६ का युवाहरुले वडा कार्यालयसँगको सहकार्यमा भद्रपुरमा पहिलोपटक वडास्तरतरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी गरेका छन् ।

क्रिकेटका विधाहरुमध्ये पछिल्लो समयमा टी–२० विधाको लोकप्रियता बढ्दै गएको छ । समय व्यवस्थापन र खर्च व्यवस्थापनमा पनि सहज हुने भएकोले यस वर्ष भद्रपुर माविको खेल मैदानमा भद्रपुर वडास्तरीय टी–२० प्रतियोगिता आयोजनाको तयारी गरिएको आयोजक बलबस्टर्स क्लव भद्रपुरका अध्यक्ष जीतु शर्माले जानकारी दिए । भद्रपुर नगरपालिकाको वडा नं ६ पनि आयोजकको रुपमा रहेको छ ।

यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारी प्रतियोगिता गर्न लागिएको हो । क्रिकेट खेलको सम्बद्र्धन गर्ने, भद्रपुर नगरस्तरीय क्रिकेट टिम तयार गर्ने र भद्रपुरमा क्रिकेट एकाडेमी सञ्चालन गर्ने उद्देश्य राखेर २७ गतेदेखि नै प्रतियोगिता सञ्चालन गरिने शुक्रबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । वडाध्यक्ष प्रेमबहादुर बरुवालको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीका बारे जानकारी गराइएको थियो । सो अवसरमा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले प्रतियोगिता सफल पार्नका लागि सहयोग पुर्याउन नगरवासीसँग आह्वान गरे । उपप्रमुख चन्द्रमाया श्रेष्ठले प्रतियोगिताभरि प्राथमिक उपचारका लागि आवश्यक औषधिलगायतका स्वास्थ्य सेवा विर्तामोडस्थित निश्चल फार्मेसीले उपलब्ध गराउने बताइन् । प्रतियोगिताका लागि आरती स्ट्रिप्सले १५ हजार रुपैयाँ सहयोग गर्ने जानकारी गराएको वडा सदस्य अजय साहेवालाले बताए ।

प्रतियोगिताको विजेता टिमलाई नगद ४० हजार एक रुपैयाँ सहित शील्ड तथा मेडल र उपविजेता टिमलाई नगद २०हजार एक रुपैयासहित शिल्ड तथा मेडलको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसैगरी, सर्वोेत्कृष्ट खेलाडीलाई नगद ३ हजार र कप प्रदान गरिनेछ । म्यान अफ दी म्याच, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर र उत्कृष्ट विकेटकिपरलाई कप एवम् सहभागी टिमलाई मायाको चिनो प्रदान गरिने जीतु शर्माले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको पनि बताइएको छ । वडा सदस्य प्रकाश शर्माले सञ्चालन गरेको पत्रकार सम्मेलनमा भद्रपुरका खेलाडीहरुको पनि उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *