Sajhamanch Archive

ढुंगा–गिट्टी उत्खननमा रोक लगाउन माग गर्दै कानेपोखरीवासी आन्दोलित !

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका र बेलवारी नगरपालिकाको पूर्वपश्चिम राजमार्गदेखि दक्षिण वारीपारी बसोवास गर्ने स्थानीयहरुले खोलामा भइरहेको दोहन रोक्न माग गर्दै आन्दोलन थालेका छन् ।

राजमार्ग दक्षिण पर्ने कानेपोखरी गाउँपालिका ५ र बेलबारी नगरपालिका ८ अन्तर्गत चिसाङ्ग खोला वारीपारी बसोवास गर्ने पीडित बासिन्दाहरुले खोलाबाट भइरहेको ढुंगा–गिटीको उत्खनन र ओसारपसार सधैंका लागि रोक्न माग गर्दै आन्दोलन थालेका हुन् ।

खोलाको उत्खनन नरोकिएमा आन्दोलनलाई कडा बनाएर लैजाने चेतावनी पीडित स्थानीयहरुको छ । मंगलबार उनीहरुले कानेपोखरीचौकस्थित पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध पारेर आधा घण्टा खोला दोहन रोक्न माग गर्दै सांकेतिक विरोध प्रर्दशन गरेका छन् ।

स्थानीयहरुले खोलामा दिगो तटबन्ध गरिनुपर्ने, मापदण्डविपरीत सर्वे गरेर खोला उत्खननका लागि सिफारिस तथा अनुमति दिने कर्मचारी र जनप्रतिनिधीलाई कारवाही गरिनुपर्ने, मोरङगमा भइरहेका सबै खोलानालाहरुबाट भइरहेको उत्खनन व्यवस्थित गर्न उच्चस्तरीय छानबिन र अध्यन टोली गठन गरिनुपर्ने, टयाक्टर र टिपर सञ्चालन गर्ने जनप्रनिधीहरुलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने अनि जथाभावी सञ्चालन भइरहेका क्रसर उद्योगहरुको अनुमति खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।

खोलाबाट मापदण्डविपरीत ढुंगागिटी निकालेकै कारण वर्षौदेखि राजमार्ग दक्षिण चिसाङ्ग खोलाको वारीपारी बेलबारी र कानेपोखरीमा बसोवास गर्दै आएका स्थानीयहरुले बाढीको प्रकोप सामना पर्नुपरेको र नम्बरी खेत खोलाले बगाउँदा बगरमा परिणत भएको बेलबारी ८ का पीडित प्रदीप रिजालले बताए ।

अर्का पीडित कानेपोखरी ५ का लोकेन्द्र कार्कीले पटक–पटक आग्रह गर्दा पनि वर्षौदेखि हुँदै आएको मापदण्डविपरीतको दोहन नरोकिएको र झन् जनप्रतिनिधीहरु समेतको मिलेमतोमा उत्खनन सुरू भएको बताए । उनिहरुले भने, ‘केही गर्दा पनि हाम्रो सुरक्षामा कसैले चासो दिएनन् । यसैले खोला निगरानी गरेर ढुंगागिटी लिन आएका टिपर सञ्चालनमा अवरोध गर्न थालेका छौं ।’

सयौको सँख्यामा २२ र २४ पुस मंगलबार खोलामा पुगेका स्थानीयहरुले ढुंगा–गिटी लिन आएका टिपर फिर्ता पठाएका थिए । उनीहरुले खोलाको समस्या दीर्घकालीन रुपमा समाधान नभएसम्म बेलबारी ८ र कानेपोखरी ३ मा पर्ने समीर र गौथली नाकाबाट टिपर र ट्याक्टर सञ्चालन हुन रोक लगाएका छन् ।

मापदण्डविपरीत स्थानीयको समस्यालाई बेवास्ता गरेर केराबारी गाउँपालिका ५ नम्बर बेलबारी नगरपालिका ८ नम्बर वडा अध्यक्षहरुसमेत मिलेर खोला दोहन गरेर झन् असुरक्षा बढाएको आक्रोश स्थानीयको छ । खोला पीडितहरुको समस्या दिगो रुपमा समाधान नभएसम्म गाउँलेहरु सधैं खोलाको निगरानी गरिरहने योजना बनाएको खोलामा सञ्चालन भएका टिपरहरु नियन्त्रणमा लिएर उनीहरुले कानेपोखरी चौकमा आएर पूर्वपश्चिम राजमार्ग सञ्चालन भइरहेका यातायात आधा घण्टा अवरुद्ध पार्दै चिसाङ्ग खोलाबाट भइरहेको अवैध ओसारपसार रोक्न माग गरे ।

प्रदर्शनको कोण सभामा बोल्दै मोरङ २ नम्बर क्षेत्रका प्रदेश सांसद सूर्यमाराज राईले खोलामा भइरहेको अवैध उत्खनन रोकेर दीर्घकालीन समस्या समाधानका लागि पहल नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले कोणसभामा भने, ‘हामीले यो सांकेतिक विरोध मात्र गरेका हौं, अब पालिकाहरु मात्र हैन प्रदेश सरकार र सभा कार्यालयहरुमा पनि घेराउ गर्न बाध्य हुनेछौं ।’

कानेपोखरी ५ का ओमबहादुर थापाका अनुसार बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका चिसाङ्ग खोला वारीपारी करिब एक हजार घर परिवार बसोवास गर्दै आएको छन् । तर, अवैध उत्खननले गर्दा उनीहरुको सयौं बिगाहा खेत बगरमा परिणत भइसकेको छ र उनीहरु झन्–झन् असुरक्षित बन्दै गएका छन् ।

पटक–पटक खोला उत्खनन गर्ने ठेकेदार र क्रसर उद्योगहरुले तटबन्ध गरिदिने र विद्यालय, क्याम्पस र बाटोघाटोको विकास गरिदिने भन्दै खोला दोहन गरेर झन्–झन् असुरक्षा बढाउँदै लगेको अर्का स्थानीय प्रेमबहादुर बस्नेतले बताए । स्थानीयहरुको सुरक्षा नगरी खोला उत्खनन गरेर राजस्व कमाउने निहुँमा ठेकेदार र व्यापारीहरुले दोहन गरिरहेको आक्रोश उनीहरुको छ ।

प्रदेश साँसद सूर्यमाराज राईले प्रहरी प्रशासनले जनप्रतिनिधीहरुको सहमतीअनुसार नै टिपरहरुसँग शुल्क असुली गरिरहेका कानेपोखरीका दुई युवाहरुलाई पक्राउ गरेर झुठो मुद्दा लगाएर द्वन्द्व बढाएको बताए । उनका अनुसार २२ पुसमा स्थानीयले ढुंगा–गिटी ओसारपसरमा रोक लगाएपछि बेलबारी प्रहरीले टिपरहरुसँग शुल्क असुलेको आरोपमा कानेपोखरी ५ का जितन चौधरी र रोशन दनुवारलाई पक्राउ गरेर अवैध चन्दा असुली आरोपमा मुद्दा दर्ता गराएको छ ।

तर, पक्राउ परेका युवाहरुले आफूखुसी नभइ जनप्रतिनिधीसहितको रोहवरमा भएको सहमतिअनुसार स्थानीय समितिका लागि समीर र गौथली नाकाबाट ढुंगा–गिटी लिएर जाने ट्याक्टर र टिपरहरुसँग प्रतिटिप एक सय रुपैयाँ असुल्न शुल्क उठाउन थालेका थिए ।

‘ट्याक्टर तथा टिपरका मालिक रहेका जनप्रतिनिधीहरुले नै रोहवरमा बसेर ढुंगा–गिटी लैजान पैसा दिने सहमती गरेर गाउँलेहरुलाई झुक्याउने अनि उल्टै चन्दा उठायो भनेर पक्राउ गरी झुठा मुद्दा लगाउन लगाएपछि समाजमा द्वन्द्व बढ्यो’, सांसद सूर्यमाराजले भने, ‘मैले प्रहरी प्रमुखहरुलाई सांसद भएको नाताले पटक–पटक वास्तविकता जानकारी गराएँ तर, उहाँहरुले कुरै नसुनी द्वन्द्व बढाउनु भयो । यसले स्थानीय झन् उत्तेजित भएका छन् त्यसको जिम्मेवारी प्रहरी प्रशासनले नै लिनुपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *