Sajhamanch Archive

चौथो राष्ट्रिय योग दिवस मनाईँदै

Published: in राष्ट्रिय समाचार by .

चौथो राष्ट्रिय योग दिवस मंगलबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि योग’ तय गरेको छ । चौथो योग दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा योगका क्षेत्रमा काम गर्ने १०० भन्दा बढी संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ ।

शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापी रूपमा कार्यक्रम गरी योग दिवस मनाइने जनाइएको छ । माघ १ गते बिहान शान्तिवाटिकाबाट प्रभातफेरि हुँदैछ । माघ ७ गते समापनका दिन कार्यपत्रको प्रस्तुतिसहित कार्यशाला गोष्ठी गरिने जनाइएको छ ।

विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा। हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

दिवसका अवसरमा योगसँग सम्बन्धित विभिन्न संस्थाले विविध कार्यक्रम गरी मनाइने मन्त्रालयले जनाएको छ । यस वर्ष ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहलाई पनि विशेष कार्यक्रम गरी योग दिवस मनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको छ ।

व्यक्तिभित्रको सम्भावना उजागर गर्न सहयोग पुर्‍याउने साधनाका रूपमा योगलाई आत्मसात गर्न जागरण फैलाउने उद्देश्यले योग दिवस मनाउन थालिएको हो ।

नेपाल संस्कृत विश्वविद्यालय योग विभागका प्रमुख डा। पोखरेलले नेपाललाई विश्वमै योग पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने बताउँछन् ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले देशभरका ७५ गुरुकुल र एक दर्जनभन्दा बढी सामुदायिक एवं संस्थागत विद्यालयमा ध्यान साधनासहितको कार्यक्रम सुरु गरेको छ । गुरुकुलमा विश्व शान्तिको सङ्कल्पले वैदिक रुद्राभिषेक र विद्यालयमा चेतनामा आधारित शिक्षा लागू गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *