Sajhamanch Archive

कनकाई माई मेलामा दर्शन गर्नेको घुइचो

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

शिवसताक्षी । झापाको प्रसिद्ध धार्मिक कनकाई नदीमा मंगलबार विहान देखि नै मकर स्नान गर्ने तथा मेलामा रमाइलो गर्नेको भिड लागेको छ । कनकाई नदि तटमा लाग्ने मेला पूर्वको पसिद्ध र ठूलो मेला मानिन्छ ।

यसैगरी आजैका दिन कनकाई नदीमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ । कन्काई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकाङ्क्षा पूरा गर्न भाकल गर्ने नेपालको पूर्वी क्षेत्र तथा भारतको सिलिगुडी, दार्जिलिंग र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीय पनि कन्काई नदीमा आएर मकर स्नान गरी पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाल्ने गर्छन् ।

माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यहाँ स्नान गर्न नेपालका वभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत, भुटान र बंगलादेशबाट समेत हजारौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन्।

मंगलबार बिहान ४ बजेबाट नै पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको माई किनारमा नुहाउने र पूजा गर्नेको भीड सुरु भएको छ। माघ १ गते भक्तजनको घुइँचो बढी हुने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भिमप्रसाद ढकालले बताए। कनकाई नदिमा लाग्ने मेलाक ड्रोन क्यामेराले निगरानी गरिएको छ ।
कनकाईको पश्चिम किनारमा शिवसताक्षी नगरपालिका र पूर्व किनारमा कनकाई नगरपालिकाले मेला लगाएको हो । वर्षेनी लाग्ने प्रसिद्ध धार्मिक मेला यस वर्ष व्यवस्थित गरिएको नगरपालिकाले जनाएका छन् ।
प्रहरीले कनकाई पुलमा हुने भिडलाई सहज बनाउँदै पूर्व पश्चिमबाट आवत जावत गर्ने सवारी साधनलाई पुल वार पार गराईरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *