Sajhamanch Archive

अनौठोगरी फस्टाउँदैछ साङ्ला उद्योग, दैनिक ५० टन फोहोर व्यवस्थापन

Published: in राष्ट्रिय समाचार by .

एजेन्सी । चीनमा फोहोर व्यवस्थापनका लागि अनौठो तरिका अपनाउन थालिएको छ । बढ्दो शहरीकरणसँगै दैनिक थुप्रिने गरेका खाद्य फोहोरबाट राहत पाउन पछिल्लो समय साङ्लाको प्रयोग गर्ने गरिएको पाइएको छ ।

यसरी अँध्यारो, तातो र उचित वातावरण मिलाइएका कोठामा हजारौँ काठका बोर्डहरुमा पालिएका एक अर्ब साङ्लाले दैनिक ५० टन फोहोर खाने गरेका छन् । जुन सातवटा ठुल्ठुला हात्तीको आहार बराबर हुन्छ । यसरी साङ्लालाई बेलुकीपख नै पाइप मार्फत खाद्य फोहोरहरु तिनीहरु भएको कोठासम्म पुर्याइने गरिन्छ ।

चीनको पूर्वी सानदोङ प्रदेशमा रहेको यो ठूलो उद्योगमा साङ्लाहरु मरेपछि पनि उत्तिकै उपयोगी मानिन्छन् । केबल ६ महिनाको छोटो आयु हुने साङ्लाबाट विभिन्न पोषक तथा औषधिजन्य पदार्थहरु निष्कर्षण गर्न सकिने प्राचीन चिनियाँ औषधिविद्हरुको मान्यता छ ।
यसरी सानदोङ क्वबिन कृषि प्राविधिक संस्थाले अब आगामी वर्ष जिनान नजिकै अर्को यस्तो उद्योग पनि खोल्ने योजना बनाइरहेको बताएको छ । जिनानमा ७० लाख मानिसले बसोबास गर्दछन् ।

वास्तवमा केही समय अगाडि अफ्रिकी ‘स्वाइन फिबर’ का कारण देशभर खाद्य फोहोर सुँगुरलाई खुवाउन निषेध गरिएपछि चीनमा साङ्लाको व्यवसाय फस्टाउँदै गएको बताइन्छ ।

साङ्लामार्फत जैविक तरिकाले फोहोर व्यवस्थापन गर्न सकिने हुँदा यो तरिका वैज्ञानिक हिसाबले पनि निकै प्रभावकारी साबित भइरहेको संस्थाका प्रमुख लिउ युसेङ बताउँछन् । साङ्ला प्रोटिनको राम्रो श्रोत भएको हुँदा सुँगुर लगायत विभिन्न जीवको आहारका रुपमा यसको प्रयोग गर्न सकिने उनको भनाइ छ । यस्तोमा यो प्रक्रियाले बेकार कुरालाई महत्वपूर्ण साधनमा परिणत गरिरहेको संस्थाकी अधिकृत लि हङ्यी बताउँछिन् । –रोयटर्सबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *