Sajhamanch Archive

प्रधानमन्त्रीसँग आज संसद् बैठकमै सवालजवाफ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। दिउँसो १२ बजे बस्ने बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारका कामकारवाहीबारे प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन्।

त्यसको जवाफ प्रधानमन्त्रीले तत्कालै दिनुपर्नेछ। प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार पहिलोपटक संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। बैठकको सुरुमै हुने प्रश्नोत्तर कार्यक्रम एक घण्टा चल्ने संसद सचिवालयले जनाएको छ। प्रश्न सोध्न चाहने सांसदले एक घण्टा अघि नै आफ्नो प्रश्नबारे सभामुखलाई जानकारी गराउनुपर्ने नियमावलीमा व्यवस्था छ।

नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ। एउटा बैठकमा बढीमा १० सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यानाकर्षण गरेको थियो। प्रश्नोत्तरपछि आज संसद बैठकमा केही विधेयकहरु पेश गर्ने कार्यसूची छ।

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनएको छ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्दैछन्। यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जीवनासक विषादी व्यवस्थापन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *