Sajhamanch Archive

प्रधानमन्त्रीद्वारा डाभोस सम्मेलनमा सम्बोधनः सरकार आर्थिक रुपान्तरणमा केन्द्रित छ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताएका छन् ।

विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत स्वीजरल्यान्डको डाभोसमा जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री ओलीले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको भन्दै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे ।

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै उनले छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताए ।

‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपाली जनताका विकासका आकांक्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताए । नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उनले उल्लेख गरे । उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउन नेपालले सकेसम्म प्रयास गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताए ।

नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐनकानुन जारी भएको भन्दै उनले अन्तर्राष्ट्रिय लगानीका निम्ति आह्वानसमेत गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *