Sajhamanch Archive

ललित बचाउन बिर्तामोडमा आर्थिक संकलन

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । इलामको रोङ गाँउपालिका–२ बदमटारका २३ वर्षीय ललित तामाङको उपचार शुरु भएको छ । दुवै मृगौला खराब भएपछि उनले आफूलाई बाचईदिन सबैसंग आग्रह गरेका थिए ।

आर्थिक अवस्था अत्यन्त नाजुक भएका तामाङलाई उपचारमा सहयोग गर्ने उद्धेश्यले रोङ–२ का जनप्रतिनिधि सहित शान्तिपुर–झापा एकता समाजले मंगलबार बिर्तामोडमा आर्थिक सहयोग संकलन गरेको छ । बिर्तामोडका विभिन्न रहेका पसलहरुबाट आर्थिक सहयोग संकलन गरिएको शान्तिपुर–झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारी जानकारी दिए । उनका अनुसार ललितलाई बचाउन आग्रह गर्दै गरिएको सहयोग संकलन कार्यक्रममा सबैले आर्थिक सहयोग गरेका थिए ।

आर्थिक सहयोग संकलन शुरु भएसंगै ललितको उपचार प्रक्रिया थालिएको जनाइएको छ । हालसम्म चार लाख रुपैंया बढी रकम संकलन भइसकेको र विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम शुरु भएको जनाइएको छ ।


श्रम गर्न भारत पुगेर आवश्यक घरखर्च सञ्चालन गर्न अभिभावकलाई सहयोग गर्दै आएका चार जना सदस्यमध्ये परिवारको मुख्य सदस्यकोरुपमा रहेका २३ वर्षीय छोराको दुवै मृगौला फेल भई थलिएपछी आमा बीबीमाया तामाङले सबैसंग छोरालाई बाचर्यदिन आग्रह गरेकी छन् । सम्पत्तिको नाममा पाँच रोपनी जग्गा रहेको उनको परिवारमा कमाउने सदस्यनै रोगग्रस्त भएपछी मधुमेह रोगका बिरामी उनलाई थप गलाएको छ ।

दुई महिनाअघि अचानक शरीर सुन्निनु र पिसाबमा रगत देखिएपछी उपचार गर्न बिर्तामोडस्थित बीएण्डसी हस्पिटल हुँदै ललित बिराटनगरस्थित नोबेल हस्पिटलसम्म पुगेका थिए । नोबेलका डा.शैलेन्द्रकुमार श्रेष्ठले बाएप्सी गर्दा नर्मल बताएको उनलाई भारत पश्चिम बंगालको सिलीगुडीस्थित बेंगाल किड्नी केयर सेन्टरमा मृगौला फेल भएको पत्ता लागेको ललित बचाउ अभियानका अध्यक्ष जयबहादुर तामाङले बताए ।

पुस दोस्रो साता काठमाण्डौंस्थित वीर हस्पिटलमा पुनः स्वास्थ्य परीक्षणका लागि पुगेको उनलाई सम्बन्धित चिकित्सकले पूर्णरुपमा मृगौला फेल भएको र प्रत्यारोपण मात्र अन्तिम उपाय भएको जानकारी दिएपछि अर्थिकरुपमा विपन्न तामाङ परिवार पीडामा परेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा दाताले मृगौला दान गर्दा प्रत्यारोपण खर्च निःशुल्क भएपनि अन्य आवश्यक उपचारका लागि अनुमानित १० देखि १२ लाख रुपैयाँ लाग्ने अभियानका सहसंयोजक सन्तबहादुर तामाङले बताए । हालसम्म उपचारको क्रममा  तीन लाख रुपैयाँ बढी खर्च भइसकेको जनाइएको छ ।

रोग निको भए समाजको लागि केही सकारात्मक कार्य गर्ने इच्छा व्यक्त गरेका ललितलाई बचाउन अभियानमार्फत् बिर्तामोडमा सहयोग संकलन शुरु गरिएको शान्तिपुर–झापा एकता समाजका उपाध्यक्ष शेखर कार्कीले जानकारी दिए । ललितलाई सहयोग गर्न इच्छुक महानुभावहरुले ग्लोबल आईएमईको खाता नम्बर ५८०७०१०००५४५१ मा सहयोग रकम जम्मा गर्न सक्ने तथा सम्पर्क नम्बर ९८४३८४८१४९, ९८४४६४०५२८ र ९८२४०५८४७९ मा सम्पर्क गर्न सबैसँग आव्हान् गरेका छन् । ललितलाई बचाएर नयाँ जीवन प्रदान गरिदिन रोङ–२ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए । उनले देश तथा विदेशमा रहेका सबै सहयोगि संघ–संस्थासंग आर्थिक सहयोग गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *