Sajhamanch Archive

सदन अवरोध र नेविसंघ विवादबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीनिकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ )को म्याद थप, सरकारविरुद्धका आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले बैठक डाकेको हो ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा अहिले बिहान ११ बजे बैठक बोलाइएको जानकारी दिँदै केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘बैठक मुख्यगरी नेविसंघ विवाद, सदनमा हामीले गरिरहेको अवरोध र महासमिति बैठकले पारित गरेको विधानलाई डकुमेन्टेशन गर्नेबारे केन्द्रित हुनेछ ।’
विधानअनुसार, भदौ २ गते हुनुपर्ने नेविसंघको १२ औं महाधिवेशन आन्तरिक विवादले पाँचौंपटक सम्म म्याद थप्दा पनि हुन सकेको छैन । वर्तमान कार्यसमितिको म्याद माघ २ गते सकिएपछि नेविसंघभित्रको सांगठिनक अन्यौलता चुलिएको छ ।

म्याद थपका विषयमा कांग्रेस नेताबीच मै मतैक्यता छैन । रामचन्द्र पौडेल समूह म्याद थप्न नहुने पक्षमा छ भने सभापति शेरबहादुर देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला स्ववियू निर्वाचन नजिकिएकाले म्याद थपेर अघि बढ्नुपर्ने पक्षमा छन् । यसबारे बुधबार पार्टी सभापति देउवाले नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग समेत छलफल गरेका थिए ।

म्याद थप गनुपर्ने मत पार्टीभित्र बलियो देखिए पनि नेविसंघका महामन्त्री सरोज थापासहित ७ पदाधिकारीले यसअघि नै राजीनामा दिइसकेका छन् । केही समयअघि म्याद थप नगर्न जुलुससहित नेविसंघका नेता–कार्यकर्ताले देउवा निवास बूढानीलकण्ठ पुगेर धर्ना दिएका थिए ।

आज बस्ने बैठकले नेविसंघको यही विवादबारे आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् ।

त्यसैगरी सदनको अवरोधलाई पनि आजको बैठकको मुख्य एजेन्डा बनाइएको छ । सरकारले कांग्रेसको असहमतिकै बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि कांग्रेसले त्यसको प्रतिक्रियास्वरुप केही दिनदेखि सदन अबरुद्ध गर्दै आएको छ । आजको बैठकले सदनको अवरोधबारे पनि छलफल गर्ने नेता प्रदीप पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *