Sajhamanch Archive

एनएमसी मेची युमा झापा जिल्ला स्तरीय रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा

Published: (Updated: ) in खेलकुद by .

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापा (एनएमसी) मेची युमा झापा जिल्ला स्तरीय खुला रेटिङ्ग बुद्धिचाल प्रतियोगिता २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मेची युमा चेस एकाडेमी मेचीनगरको आयोजनामा माघ १७ देखि २० गतेसम्म एनएमसी प्रधान कार्यालय काँकरभिट्टाको हलमा हुने प्रतियोगितामा जिल्लाभरिका कुल ५० देखि ६० जना महिला तथा पुरुष रेडेट तथा अनरेडेट खेलाडीले सहभागिता जनाउने आयोजक संस्थाका सचिव राजु पौडेलले बताए ।

चेस खेललाई प्रवद्र्धन गर्ने, जिल्लाका युवाहरुलाई बुद्धिचाल खेलप्रति सहभागिता गराउने,स्थानीय युवाहरुलाई बुद्धिचाल खेलप्रति आर्कषित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताको अनुमानित लागत खर्च २ लाख ४७ हजार अनुमान गरिएको छ ।
प्रतियोगितामा दशैं स्थानसम्म हासिल गर्ने खेलाडीलाई नगद रुपैयाँसहित पुरस्कृत गरिने छ । प्रमाणपत्र समेत प्रदान गरिने छ । आयोजकका अनुसार पहिलो हुने खेलाडीले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ८ हजार चौथोले ६ हजार, पाँचौले ५ हजार , छैठौले ४ हजार, सातौले ३ हजार, आठौले २ हजार ५ सय,नवौले २ हजार दशैं स्थानको खेलाडीले नगद १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका सचिव पौडेलले बताए ।

१९ वर्षमुनिका प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई नगद १ हजार तथा ५० वर्ष उमेर माथिका भेट्रान खेलाडीलाई १ हजार ५ सय रुपैयासहित प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष भरत गुरुङले बताए । यसैगरी प्रतियोगितामा फरक क्षमताका प्रथम हुने खेलाडीलाई नगद १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ ।

पुरस्कारका लागि कुल ६१ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अन्य शीर्षकमा १ लाख ८५ हजार ५ सय गरी कुल २ लाख ४७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव पौडेलले बताए । प्रतियोगिता सम्पन्न गर्न मुल आयोजक कमिटिसहित विभिन्न दुईवटा उपसमिति तयार गरिएको छ । आयोजक संस्थाका कोषाध्यक्ष ओमप्रकाश दाहालको संयोजकत्वमा आर्थिक समिति र उपाध्यक्ष भरत गुरुङको संयोजकत्वमा खेलाडी व्यवस्थापन समिति, प्रतियोगिता निर्देशकको जिम्मेवारी ठाकुरप्रसाद शिवाकोटीलाई प्रदान गरिएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि एनएमसी मुख्य प्रायोजक रहेको प्रतियोगितामा संस्थाका तर्फबाट १ लाख रुपैयाँ तथा बाकी रकम खेलाडी शुल्क र विभिन्न संघ संस्था तथा खेलप्रेमी महानुभावहरुबाट संकलन गरिने योजना रहेको छ । प्रतियोगितामा सहभागिता जनाउने जिल्लाभरिका रेडेट तथा अनरेडेट खेलाडीले नगद ५ सय रुपैयाँ दर्ता वापत बुझाउनु पर्ने छ । भने विद्यार्थी खेलाडीले सहभागी हुन चाहे नगद १ सय रुपैयाँ बुझाउनुपर्ने हुन्छ । प्रतियोगितामा निर्णयकको भूमिका समेत आयोजकले निर्वाह गर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *