Sajhamanch Archive

गौशालामा सयौं गाई मृत फेला

Published: in राष्ट्रिय समाचार by .

कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् ।

नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिंह धामीले बताए ।

उनले भने, ‘यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महिना खुला आकाशमुनि हुँदा पनि गाईबस्तु मरेका हुन् । शुरुमा करीब तीन हजारको सङ्ख्यामा गाईबस्तु रहे पनि अहिले जम्मा १५० मात्र छन् ।’

नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशु चौपायालाई चरीचरन र पानीको उचित व्यवस्था गरिएको छैन । नगरपालिका र वडा कार्यालयलाई जानकारी गराउँदा पनि चासो नदिएको अर्का हेरालु भोजबहादुर चौधरीले बताए ।

आफूहरूलाई पनि बस्नका लागि उचित व्यवस्था नभएकाले प्लाष्टिकको छानाको भरमा रात काट्नुपर्ने बाध्यता रहेको उनको गुनासो थियो ।

नगरपालिकाभित्र रहेका छाडा पशु चौपायालाई व्यवस्थापन गर्ने भन्दै घोडाघोडी नगरपालिकाले गत साउन महिनामा वडा नं ७ का अध्यक्ष धनबहादुर बमको संयोजकत्वमा छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गरी रु ३० लाख उपलब्ध गराएकामा हालसम्म रु १५ लाख भन्दाबढी खर्च भइसकेको नगरपालिका वडा नं ८ अध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका सदस्य भीम बोगटीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *