Sajhamanch Archive

संसदमा सभामुखको ठ्टटा: समर्थनमा उभिएको कि विरोधमा !

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । अर्काे बैठक २० गते आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक अघि बढाउने बित्तिकै काँग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । काँग्रेस सांसदहरु उठेपछि सभामुख महराले भने, ‘माननीय सदस्यहरु, माननीय सदस्यहरुको विरोधको कार्यक्रम त सकिएजस्तो लाग्छ !’ यति भन्दै गर्दा महरा मुसुक्क हाँसेका थिए । अघिल्लो शुक्रबार प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउँदा निकै हतारमा र हड्बडाएको जस्तो देखिने सभामुख महरा बिहीबार अलि रसिक रुपमा प्रस्तुत भए ।

काँग्रेस सांसदरु उठेपछि उनले मिनेन्द्र रिजाललाई बोल्ने समय दिए । झण्डै २४ मिनेट बोलेको रिजालले केपी ओली नेतृत्वको सरकार अहंकारी भएकोदेखि भेनेजुयलाको विषयमा नेकपाले जारी गरेको विज्ञप्तिसम्मका कुरा उठाए । सरकारले जारी गरेका चिकित्सा शिक्षा विधेयक, डा। गोविन्द केसीको अनशनलाई सरकारले वेवास्ता गरेकोलगायत सरकारका अनेक निर्णयको उनले विरोध गरे ।

मिनेन्द्र रिजालले बोलिसक्ने बित्तिकै नेमकिपाका सांसद प्रेम सुवालले बोल्न खोजे । तर, सभामुख महराले ‘लाइन’ दिएनन् । सुवाल केही समयसम्म बोलिरहे तर, उनको आवाज ‘प्रशारण’ भएन । काँग्रेस सांसदहरु बसिसकेपछि बोल्न दिने भन्दै सभामुख महाराले सांसद सुवालाई बस्न आग्रह गरे ।

सभामुख महराले काँग्रेस सांसदहरुले उठाएको मुल मुद्धामा सरकारले सकारात्मक निर्णय लिएको भन्दै ‘खुशीले उभिएको हो कि, विरोभमा ?’ भनेर प्रश्न गरे । त्यसबेला पनि उनको ओठमा मुस्कान थियो । ‘सरकारले गरेको सकारात्मक निर्णयमा खुशीका साथ उठ्नभएको हो कि ! के हो माननीय सदस्यहरु ! खुशीको बेलामा उठिराख्नु पर्दैन, बस्नुस्’ यति भनेर सभामुख महरा खुलेर हाँसे । महारासँगै सत्तापक्षका सांसदहरु पनि हाँसे ।

त्यसपछि मिनेन्द्र रिजालले फेरि केही भन्न खोजे । तर, सभामुख महाराले उनले बोलिसकेको भन्दै फेरि उही कुरा दोहो¥याए, ‘खुशीमा उठिराख्नु पर्दैन, बस्नुस् ।’ साथै उनले चिकित्सा शिक्षा विधेयक सदनबाट पास भइसकेको र पास भएको विषयमा उठिराख्नु नपर्ने पनि बताए । काँग्रेस सांसदहरुले समितिमा असन्तुष्टि जनाएको, असन्तुष्टिसहित सदनमा पेश भएको बताउँदै उनले सबै काम प्रक्रियागत हिसाबबाटै भएको प्रष्ट्याए ।

सभामुख महराले पटक–पटक बस्न आग्रह गरे पनि काँग्रेस सांसदहरु बसेनन् । सभामुख महरा बेलाबेला उभिइरहेका काँग्रेस सांसदहरुलाई हेर्दै हाँसिरहेका थिए । यसैबीचमा नेकपाका सांसद विरोध खतिवडा उठेर बोल्न समय मागे, हलभरी हाँसो गुञ्जियो । सभामुख महराले काँग्रेस सांसदहरु केहीबेरमा बस्ने र त्यसपछि बोल्न समय दिने बताएपछि खतिवडा बसे । खतिवडा बसेपछि महाराले फेरि भने, ‘उहाँहरुले सरकारले गरेको निर्णयमा खुशी नै मनाको हो ।’

सदन शुरु भएको झण्डै ३० मिनेटसम्म पनि काँग्रेस सांसदहरु नबसेपछि ‘अब त विरोध पुग्यो कि’ भन्दै सभामुख महराले भने, ‘मैले बुझ्न नसकेको कुरा के छ भने यो विरोध हो कि समर्थनमा उठ्नुभएको बुझ्नै सकेन ।’

कसैगरे पनि काँग्रेस सांसदहरु नबसेपछि महाराले ‘धेरैबेरसम्म उभिदा थकाई महसुस होला’ भन्दै बस्न आग्रह गरे । काँग्रेस सांसदहरु उठेर विरोध जनाइरहे भने नेकपाका सांसदहरु ‘कानेखुशी’ गर्न थाले ।

सदन शुरु भएको साढे ३४ मिनेटसम्म पनि विरोध कायमै भएपछि महराले फेरि ठट्टा गरे, ‘माननीय सदस्यहरु मलाई कति मिनेटपछि बसिदिनुहुन्छ भन्ने थाहा भएपछि पनि म त्यही अनुसार प्रतिक्षा गर्थेँ ।’ यो बेला सभामुख महराको ठट्टाले काँग्रेस सांसद रिजाल पनि हाँसिरहेका थिए ।

तर, उनले भनेजस्तो न काँग्रेस सांसदहरुलाई ‘थकाई लाग्यो’, न सभामुख महाराले ‘प्रतिक्षा’ गर्न सके । अन्ततः सदन शुरु भएको ३५ मिनेटपछि संसदको अर्काे बैठक २० गतेलाई बोलाएर महाराले आजको बैठक स्थगित गरे ।

आज नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७५’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ पेश गर्ने, गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७५’ प्रस्तुत गर्ने, ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) २०७५’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले नै राखेको विरोधको सूचना निर्णयार्थ पेश गर्ने, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) २०७५’ पेश गर्ने कार्यसूची थियो ।

यस्तै ‘भूउपयोग विधेक २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ पेश गर्ने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ‘भूउपयोग विधेक २०७५’ प्रस्तुत गर्ने र गृहमन्त्री थापाले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *