Sajhamanch Archive

विकास बोर्डका अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् ।

उनले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् । उनले विज्ञप्तिमार्फत माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई राजीनामा पेश गरेको बताएकी छन् ।

‘ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ’ उनले भनेकी छन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर पौडेलले मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् ।

उनले हालै सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् ।

पौडेललाई २०७४ मंसिर २५ गते तत्कालिन मन्त्रिपरिषले विकास बोर्डमा अध्यक्ष नियुक्त गरेको थियो । उनले आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली शुरूवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएको पनि उल्लेख गरेकी छन् ।

पौडेलले आफूलाई दिइएका जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमा भित्रै समापन गरी त्यसको रिपोर्ट पनि मन्त्रीलाई बुझाएको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

‘उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा विशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठूलो उपलब्धि भएको छ’ पौडेलले भनेकी छन् ।

डिजिटलाइजेसनसहित अभिलेख ब्यवस्थापन, चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा, सन्देशमूलक चलचित्रलाई करमा सहुलियत, विशिष्ट चलचित्रकर्मीका लागि उपचार लगायतमा सहयोगमा रकम थपलगायतका काम आफूले गरेको निकिताले बताएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *