Sajhamanch Archive

नियमित विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्टलाई करौडौं घाटा

Published: in राष्ट्रिय समाचार by .

उदयपुर ।  पुनर्जीवन पाएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग प्रालि पछिल्लो महिना नियमित विद्युत् नहुँदा थलिँदै जान थालेको छ। एक सेकेण्ड मात्र विद्युत् अवरुद्ध हुँदा पनि लाखौं घाटा लाग्ने उद्योगमा दैनिक १३ घण्टासम्म विद्युत् कटौती हुन थालेको छ।

माघ लागेयता उद्योगमा दर्जनौं पटक विद्युत् अवरुद्ध भइसकेको उद्योग प्रशासनले जनाएको छ। कुनै दिन १ देखि ६ पटकसम्म विद्युत् जाने गरेको छ। पटकपटक विद्युत् गइरहँदा चलिरहेका यन्त्र उपकरण पनि बिग्रन थालेका छन्। जसले गर्दा पुनःसञ्चालन गर्न थप विद्यत लाग्ने हुँदा उत्पादन परिणाम घट्न गई तेहरो घाटा लाग्ने उद्योगका निमित्त महाप्रबन्धक (जीएम) नवलकिशोर साहले बताए।

साहका अनुसार दैनिक ८ सय मेट्रिक टन क्लिङ्कर (१५ प्रतिशत जिप्सन मिसाएपछि सिमेन्ट तयारी हुने) उत्पादन क्षमता भएको उद्योगले कात्तिकयता पूर्ण क्षमता हुँदै क्षमताभन्दा १६ प्रतिशतसम्म बढी उत्पादन थालेको थियो। तर, माघ लागेदेखि नै उद्योगमा बिजुली अवरुद्ध हुन थालेपछि उत्पादन क्रमशः घट्दै गएको छ। माघ १ गते पूर्ण क्षमताभन्दा १०३.१२ प्रतिशत अर्थात् ८ सय २० टन क्लिङकर उत्पादन गरेको उद्योगले त्यसपछि ११ गते मात्र १०१.७५ प्रतिशत अर्थात ८ सय १५ टन उत्पादन गरेको साहले बताए।

माघको २० दिनमा भएको उत्पादन जोड्दा प्रतिदिन सरदर ४ सय ८४.८ मेट्रिक टन सिमेन्ट उत्पादनमा उद्योग खुम्चिन पुगेको उत्पादन महाशाखा प्रमुख इन्जिनियर सञ्जयलाल कर्णले बताए। भने, ‘विद्युत कटौतीकै कारण २ गतेदेखि १० गतेसम्म उत्पादन गति घटिरहेको छ। आकस्मिक विद्युत् अवरुद्ध हुन पुग्दा उत्पादन घट्ने मात्र नभई उपकरण बिग्रने खतरा पनि उत्तिकै छ ।’

झ्याप्प आउने जाने बिजुलीले उपकरण बिग्रेर माघ १२, १३, १४, १५, १८ र १९ गते उद्योग सञ्चालन हुनै नसकेको इन्जिनियर कर्णले बताए। माघ १ देखि २० गतेसम्म ६२ पटक विद्युत अवरुद्ध हुन पुगेको कर्ण बताउँछन्। कर्णले भने, ‘यसले उद्योगलाई ठूलो घाटा पुर्‍याएको छ । प्राधिकरणसँग पटकपटक कुरा राख्दा पनि उद्योगमा आउने विद्युत् नियमित हुन सकेन।’

उद्योगका कामु नायव महाप्रबन्धक (डीजीएम) ध्रुव देवकोटाका अनुसार एक सेकेण्ड मात्र विद्युत अवरोध हुँदा पनि लाखौं नोक्सान हुने गर्छ। ‘सिस्टमअनुसार स्वीच दबाएर मेसिन चलाएर बन्द गर्दा केही हुन्न’, प्रशासन तथा लेखा महाशाखा प्रमुखसमेत रहेका डीजीएम देवकोटाले भने, ‘एक्कासि बिजुली जाँदा चलिरहेका मेसिन उपकरण टुटफुटदेखि फेरि फाइरिङ गर्दा लाखौं घाटा लाग्छ।’

उद्योगले छुट्टै ग्रीडमार्फत लहान र जलजले सबस्टेसनबाट विद्युत् आपूर्ति गर्दै आएको छ। सबस्टेसन लहानमार्फत आपूर्ति हुने बिजुली अवरुद्ध हुनुमा लहानकै कमजोरी औंल्याउँछन् प्राधिकरण वितरण केन्द्र गाईघाटका प्रमुख रामअयोध्या यादव। उद्योगमा बिजुली नआउनुमा गाईघाट केन्द्रको कुनै साइनो नभएको उनको दाबी छ । ‘उद्योगलाई चाहिने बिजुली सोझै लहान र जलजले सबस्टेसनसँग जोडिएको छ’, यादवले भने ‘कतिखेर आउँछ, जान्छ हामीलाई जानकारी हुँदैन।’

उद्योग सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्काले विद्युत् अनियमितता उद्योगको प्रमुख समस्या भएको बताए। लामो समय थलिएर बल्ल उक्सेको उद्योगलाई यथावत् सञ्चालन गर्न हरप्रयत्न भइरहेको बताउँदै अध्यक्ष खड्काले यसको विकल्प सोच्न मन्त्रालयसँग छलफल गर्न लागेको बताए। ‘टाट पल्टिसकेको फ्याक्ट्रीले धेरै वर्षपछि पुनर्जन्म पाएको छ, यसलाई सकभर बढाउने नसके पनि यत्तिकै उत्पादन कायम राख्नेगरी सञ्चालन गर्ने उपाय खोजिरहेका छौं।’

नागरिक न्युजबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *