Sajhamanch Archive

मौसम बदलीसँगै वर्षा र हिमपात

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ। पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर सुरु भएको वर्षा र हिमपात जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव बिहिबार रातिदेखि पूर्वतर्फ बढ्दै गएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उनले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने बताइन्। आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ ।

काठमाडौँ आसपासका क्षेत्रमा दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा हुने जानकारी दिँदै मौसमविद् कँडेलले भनिन् “दिनभर लगातार वर्षा भने हुँदैन, उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा कम बदली हुन्छ ।” शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *