Sajhamanch Archive

अम्लिसो कृषकलाई खुशीको खबरः हरेक वर्ष निकासी बढ्दै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काँकरभिट्टा । पूर्वी पहाडी जिल्लाको मुख्यः नगदेबालीको रुपमा रहेको अम्लिसो कुचोको माग भारतमा निक्कै बढेको छ । पूर्वीनाका काँकरभिट्टा हुदै भारततर्फ जाने अम्लिसोको निर्यात बर्षेनी बढ्दो मात्रामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो ।

नेपालमा उत्पादित अम्लिसो विशेषगरी भारतको पश्चिम बंगाल, गुजरात, मध्यप्रदेश, राजस्थान, पञ्जाव, हरियाणा, आन्ध्र प्रदेश, युपी, मध्यप्रदेश, माहाराष्ट्रलगायतका शहरमा खपत हुने गरेको कार्यालयका बाली संरक्षण अधिकृत सुरेशकुमार साहले बताए । साहका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पूर्वीनाका हुँदै ४२ करोड २६ लाख ५६ हजार रुपैयाँ बराबरको १३ हजार २०८ मेट्रिक टन अम्लिसो निर्यात भएको तथ्याङ्क कार्यालयसँग छ ।

अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा ३९ करोड ८० लाख ८० हजार रुपैयाँ मूल्य बराबरको १२ हजार ४४० मेट्रिक टन अम्लिसो निर्यात भएको कार्यालयका प्राविधिक सहायक विनयकुमार साहले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि पुषसम्मको अवधिमा सो नाका भएर ४ हजार ९०३ मेट्रिक टन कुचो १६ करोड ४७ लाख ४० हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

आर्थिक वर्ष २०६५/०६६ देखि २०७०/२०७१ सम्म ८१ करोड ८१ लाख ८५ हजार रुपैयाँ मूल्य बरावरको अम्लिसो भारततर्फ निर्यात भएको थियो । कार्यालयको तथ्याङ्क हेर्दा हरेक वर्ष यसको निर्यातमा उतार चढाव देखिन्छ । आव २०६५/०६६ मा १० करोड ३० लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको १० हजार ३३१ मेट्रिक टन अम्लिसो काँकरभिट्टा नाका हुदैं निर्यात भएको थियो ।

२०६६/०६७ मा अम्लिसो निर्यातको परिणाम ह्वात्तै ओरालो लाग्यो र ७ हजार ९६३ मेट्रिक टनमा झर्यो । सो अर्थिक वर्षमा मूल्य ७ करोड ९६ लाख २२ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको कार्यालयले जनाएको छ ।

२०७२/०७३ मा २९ करोड ७९ लाख ७० हजार रुपैयाँ मुल्य बराबरको २० हजार ५९७ मेट्रिक टन अम्लिसोको कुचो निर्यात भएको थियो । आर्थिक वर्ष २०७१/०७२ मा १२ हजार ६०८ मेट्रिक टनको १२ करोड ५५ लाख ९२ हजार रुपैयाँ नेपाली किसानले पाएका थिए ।

अम्लिसोको निर्यात २०६८/०६९ मा निक्कै माथि पुगेपनि २०६९/०७० मा भने तल झरेको तथ्याङ्कले देखाउँछ । सो वर्ष ११ हजार ३३९ मेट्रिक टन मात्र कुचो निर्यात भएको थियो, जसबाट ११ करोड १६ लाख २३ हजार रुपैयाँ नेपाली किसानले पाएको कार्यालयले जनाएको छ ।

नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापाका केही भाग तथा संखुवासभा, सिन्धुली, बनेपा, हेटौंडा लमजुंङमा उत्पादित अम्लिसो वार्षिक रुपमा १२ सय गाडी भारततर्फ निर्यात हुने गरेको कुचो व्यवसायीहरु बताउँछन् । झापामा मात्र चार दर्जन बढी कुचो व्यवसायी रहेपनि १० जनाले मात्र निर्यात व्यपार गर्ने गरेको र बाँकीले आन्तरिक बजारमै खपत गर्ने नेपाल अम्लिसो कुचो व्यवसायी संघका केन्द्रीय अध्यक्ष तेजराज प्रसाई बताउँछन् । व्यवसायीहरुले मंसीरदेखि चैत महिनासम्मलाई सिजनका रुपमा लिने गरेको भएपनि पछिल्लो समय बाह्रै महिना कुचोको व्यापार हुने गरेको अध्यक्ष प्रसाईको भनाई छ ।

नेपाली अम्लिसोभन्दा भारतको सिलोङमा उत्पादित अम्लिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई छ । सिलोङबाट मात्र बर्षेनी पाँचदेखि साढे पाँचलाख वण्डल अम्लिसो भारतका विभिन्न बजारमा पुग्ने गरेको बताइन्छ । यसकारण पनि नेपाली कुचोले भारतीय बजारमा थोरै मार खेप्नु परेको नेपाली व्यवसायीहरुको भनाई छ ।

भारतले लगाएको जीएसटीका कारण नेपाली व्यवसायीहरुले सास्ती व्यहोर्नु परेको भएपनि केही महिनादेखि जीएसटी हटाएका कारण सहज भएको अध्यक्ष प्रसाई बताउँछन् । एकजना व्यवसायीले अम्लिोसो कुचो निर्यात गर्दा प्रतिकेजी ५ रुपैयाँ खर्च आउने गर्दछ । क्वारेन्टाइनले निकासी वापत एक कन्साइनमेण्ट बराबर एकसय रुपैयाँ राजस्व वापत सेवा शुल्क लिने गरेको छ । सम्बन्धित उद्योग वाणिज्य संघले नेपालमा उत्पतिको प्रमाण पत्र दिने गर्दछ । त्यसैका आधारमा व्यवासयी एक कन्साइनमेण्टका आधारमा मालसमान निर्यात गर्न पाउने कार्यालयका बाली संरक्षण अधिकृत साहले बताए ।

झापाली कुचो व्यवसायीबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा सात हजारभन्दा बढी मानिसले रोजगारी पाएका छन् । यसले गर्दा धेरैलाई रोजगारको अवसर मिलेको प्रसाईंको भनाई छ । कुचो व्यवसायीले विभिन्न स्थानबाट काँचो अम्लिसो ल्याएर भण्डारण गर्ने, तीन चार घाम सुकाउने र त्यसपछि दुई अढाई केजीको मुठ्ठा बनाई ५० केजीको बण्डल बनाएर निर्यात गर्ने गरेको व्यवसायीको भनाई छ । निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ ।

निकासी प्रक्रिया कुनै झण्झटिलो नभएको तर बाटामा ढाट राखेर लिने अनावश्यक करले व्यवसायीले आर्थिक व्ययभार खेप्नु परेको व्यवसायीको भनाई छ । एक जिल्लाबाट अर्काे जिल्ला लैजाँदा सम्बन्धित जिल्लामा निकासी वापत कर तिरे हुन्छ तर बाटैपिच्छे ढाट तेस्र्याएर कर संकलन गरिने कार्यबाट हरेक व्यवसायी पिडीत बन्नु परेको व्यवसायीको गुनासो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *