Sajhamanch Archive

पोखरी विवादमा गोली चल्यो, ११ जना घाइते

Published: in राष्ट्रिय समाचार by .

लहान ।  सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरमा रहेको सिकिया पोखरीको स्वामित्वको विषयमा शनिबार अपरान्ह भएको विवादमा द्विपक्षीय झडपले उग्ररूप लिएपछि प्रहरीले हवाई फायर गरेको  छ।

द्विपक्षीय झडपको क्रममा करिब दर्जन जना घाइते भएपछि स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायरसहित लाठी चार्ज गरिएको इलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ। प्रहरीको लाठीचार्जको क्रममा दुवै पक्षका गरी ११ जना घाइते भएका छन्। नगरपालिकाले ठेक्का लगाएको पोखरीमा पोखरीको स्वामित्व दावी गरिरहेका सिकिया मण्डलका आफन्त सुशील मण्डल शनिबार माछा मार्न गएपछि शुरु भएको विवादले उग्ररूप लिएको हो।

मण्डलले पोखरी आफ्नो रहेको दावीसहित नगर कार्यपलिकामा उजुरी र अदालतमा समेत मुद्दा दिएको जनाइएको छ। पोखरीमा आफ्नो स्वामित्व रहेको दावी गरिरहेका मण्डल माछा मार्न जाँदा ठेकेदार पक्षले रोकेपछि शुरु भएको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायरसहित लाठीचार्ज गरिएको प्रहरीले जनाएको छ। प्रहरीको लाठीचार्जमा मण्डल पक्षका नौ जना घाइते भएका छन्। घाइते हुनेहरूमा मण्डल पक्षका भरोसी मण्डल, सकल मण्डल, दिनेश मण्डल, सुनिल मण्डल, मिन्टु मण्डल, विष्णु मण्डल, विनोद मण्डल, रामबाबु मण्डल र श्याम कुमार मण्डल छन्। त्यस्तै, ठेकेदार पक्षका श्रीनारायण यादव र ठेकेदार रमेश कुमार यादव पनि घाइते भएका छन्। घाइतेहरूको सुखीपुर पोलिक्लिनिकमा भइरहेको इलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायव निरीक्षक सिकिन्द्र साहले बताए। प्रहरी नायव निरीक्षक साहका अनुसार अहिले विद्यानगरमा थप झगडा हुन नदिन जिल्लाबाट समेत मगाइएको प्रहरीसहित तैनाथ गरिएको रहने छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *