Sajhamanch Archive

पूर्वाञ्चल विश्वविद्यालयमा १ महिनादेखि तालाबन्दी, प्राध्यापक आन्दोलित

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विगत १ महिनादेखि तालाबन्दी हुँदा कामकारवाही प्रभावित भएका छन् ।

तालाबन्दीका कारण विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास, रजिस्ट्रार प्रमिला थापा, डीन डा. शम्भु कोइराला लगायतका पदाधिकारी कार्यकक्षमा प्रवेश नै पाउँदैनन् । विश्वविद्यालयमा आउने सेवाग्राहीले समेत निराश भएर फर्किनुपरेको छ ।

गत पुस २९ गते विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र लेखा शाखामा लागेको ताला नखुलेपछि बाहिरै बसेर काम गरिरहेको रजिस्ट्रार थापाले बताइन् । कार्यालयको काम १ महिना बितिसक्दा पनि हुन सकेको छैन भने विश्वविद्यालयजस्तो गरिमा बोकेको शैक्षिक संस्थालाई व्यवस्थित गर्ने प्रशासनबाट भएको छैन ।

प्रगतिशील प्राध्यापकको नाममा भएको तालाबन्दीका कारण सबै प्रशासनिक कामहरू अन्य कर्मचारीको कार्यकक्षमा पनि हुन सकेको छैन । सूचनाको हकबारे निवेदन लिएर पुगेका विराटनगर महानगरपालिका–५ का राजु श्रेष्ठले काम नभएको बताए । मंगलवार दिउँसो करीब २ बजेतिर त्यहाँ पुगेका श्रेष्ठले आफूले लगेको निवेदन रजिस्ट्रार थापालाई तोक लगाउन भनेपनि उनले तालाबन्दी भएको कारण कामै हुन नसक्ने भएकाले दर्ता भएको सम्झिन र कार्यालय खुलेको दिन सूचना लैजान आग्रह गरिन् ।

श्रेष्ठले तोक लगाएर दर्ता गरेर दिन भनेर कर गर्दा पनि उनले तोक लगाउन मानिनन् । निवेदन हातमा समातेर उनले भनिन्, ‘माथि सबै कार्यालयमा तालाबन्दी भएकाले काम हुँदैन, तालाबन्दी खुलेपछि आजकै मितिमा दर्ता गरौंला ।’

विश्वविद्यालयको ताला खुलाउन असफल

घाम तापेर बसेका उपकुलपति दाससँग कार्यालयमा लागेको ताला खुल्न नसक्नुको कारण सोध्दा उनले प्रयास भइरहेको बताए । उनी केही दिनदेखि विराटनगर बाहिर थिए । भारतका विभिन्न स्थानमा प्रमुख अतिथि तथा पूर्वाञ्चल विश्वविद्यालयको प्रचारको लागि गएको उनले बताए ।

‘पूर्वाञ्चल विश्वविद्यालयबारे बाहिर पनि जानकारी हुनुपर्छ भन्ने लागेर म भारत गएको थिएँ,’ उनले भने, ‘केही दिन भयो फर्किएको अब यो विषय चाँडै मिल्छ ।’

प्रगतिशील प्रजातान्त्रिक प्राध्यापक संघले विश्वविद्यालयमा गत पुस २९ गतेदेखि तालाबन्दी गरेको हो । पूर्वाञ्चल विश्वविद्यालय समन्वय महाशाखाका राजेशकुमार झालाई सहरजिस्ट्रारमा नियुक्त गरेको भन्दै प्राध्यापक आन्दोलित छन् ।

विश्वविद्यायका प्राध्यापक बोधहरी आचार्यले विश्वविद्यालयमा हुने माथिल्लो नियुक्ति मनपरी भएको, पहिला भएको सम्झौताअनुसार स्थायी प्राध्यापकबाट हुनुपर्ने नियुक्ति विपरीत गएर झालाई नियुक्त गरिएको बताए ।

विश्वविद्यालयका उपकूलपति घनश्यामलाल दासले केही व्यक्तिले कुरा नबुझ्दा समस्या भएको बताए । उनले अहिले भएको आन्दोलन मिलाउने प्रयास भइरहेकाले सबै सहमतिमा आउने आशा रहेको बताए । झाको नियुक्ति कानून र नियम अनुसार नै भएको स्वीकार गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *