Sajhamanch Archive

रोकिएन अवैध मदिराको कारोबार

Published: in राष्ट्रिय समाचार, by .

भद्रपुर । अबैध उत्पादन भनिएको घरेलु मदिरा नियन्त्रणलाई झापा प्रहरीले तीव्रता दिएको जनाइ रहे पनि झापा सदरमुकाम क्षेत्रमा मदिरा उत्पादन र बिक्री वितरण रोकिएको छैन ।

प्रहरीले अपराधको मुख्य कारण मदिरा रहेको निष्कर्ष निकाल्दै नियन्त्रणलाई तीव्रता दिएको प्रचार गरिरहे पनि विगतदेखि खुलेआम चलिरहेका अवैध मदिरा पसलमा कारोवार भइरहेको छ । सदरमुकाम भद्रपुर क्षेत्रका अधिकाम्स गल्लि तथा चौक बजार आसपास बिहानैदेखि घरेलु मदिरा उत्पादन र बिक्री भइरहे पनि प्रहरी देखेको नदेखै गरेर हिडिरहेको स्थानीयले बताउने गरेका छन् ।

चन्द्रगढी स्थित लेखनाथ चौक आसपास मात्र ५ ठाउँमा विहानैदेखि घरेलु मदिरा उत्पादन र बिक्री वितरण भइरहेको पाइएको छ । अस्थायी प्रहरी विट परिसर पछाडि खुलेरै अवैध भनिएको मदिरा बिक्री भइरहे पनि प्रहरीले चाल नपाएको नाटक गरिरहेको स्थानीय बताउँछन् । अधिकाम्स सयम प्रहरी बस्ने सो विट आसपास रक्सी सेवन गरेर होहल्ला गर्दै हिड्ने व्यक्तिको कमी पनि देखिँदैन तर प्रहरीले रक्सी उत्पादन र बिक्री स्थलतिर फर्केर हेर्ने गरेको छैन ।

यता भद्रपुर स्थित वडा प्रहरी कार्यालयले घरेलु मदिरा नियन्त्रण अभियान कार्यान्वयनमा आएयताको एक महिने अवधिमा ११ सय लिटर बढी अवैध रक्सी नष्ट गरिएको जनाई रहँदा भद्रपुर नगर भित्र मन्दिर, विद्यालय जस्ता सार्वजनिक स्थल आसपास विगतदेखि चल्दै आएका भट्टीबाट रक्सी बिक्री वितरण रोकिएको देखिँदैन ।

अभियान सुरू भए यता रक्सी कारोवारीले मूल्य भने राम्रै बढाएको सेवनकर्ता बताउँछन् । बिक्रेताले प्रहरीको आखाँ चिम्म पार्न भन्दै मूल्य बढाइरहेको उनीहरूको तर्क छ । झिनामसिना कारोवारीबाट मदिरा खोसेर अभियान सफल पार्ने प्रहरी प्रशासनको कार्यले कमिशनको गन्ध पनि छोडिरहेको छ । सदरमुकाम भित्रै अबैध भनिएको रक्सीभट्टी नियन्त्रण गर्न नसकिरहेको झापा प्रहरीले जिल्लाभर सक्ला त ? यो प्रश्न सवैको मनमा उब्जिएको स्थानीय बताउँछन् ।

झापा जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरणको लागि १६ सय ८२ वटा फर्मले इजाजत लिएको आन्तरिक राजश्व कार्यालयको अभिलेखमा देखिन्छ । बैधानिक तथ्यलाई मात्र आधार मान्दा जिल्लाको जनसङ्ख्या ८ लाख १२ हजार ६ सय ५० रहेकाले प्रति फर्म ४ सय ८३ जना पर्न आउने देखिन्छ । विशेष गरी विदेशी उत्पादनका महंगा रक्सी मात्र विक्रीवितरण गर्न इजाजत लिएका अधिकाम्स फर्मले घरेलु मदिरा पनि अबैध रूपमा बिक्री वितरण गर्ने गरेको भए पनि नियामक बेखवर बस्दा मदिरा नियन्त्रण अभियान चर्चाका लागि मात्र हो कि भन्ने शंका पैदा भएको छ । स्थानीयको भनाइ अनुसार रक्सी जन्य पदार्थ पूर्ण रूपमा नियन्त्रण गर्न नसक्ने हो भने प्रहरी प्रशासनलाई घरेलु मदिरा नियन्त्रण कमाइखाने बाटो मात्र हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *