Sajhamanch Archive

मोरङमा सौर्य उर्जाबाट मिनिग्रीड परियोजना सञ्चालनमा

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । मोरङको जहदा गाउँपालिकाको दुईवटा वडामा सौर्य उर्जा सोलार मिनिग्रीड परियोजना सञ्चालनमा ल्याइएको छ ।

जदहा गाँउपालिकाको वडानम्बर २ र ७ मा सँचालनमा ल्याइएको परियोजनाको संघीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि रेनो मायरले उद्घाटन गरेका थिए ।

जहदा गाँउपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत् परियोजना सञ्चालनमा ल्याइएको छ । वडानम्बर २ मा ५ किलोवाटको मराङबुरु सौर्य उर्जा मिनिग्रिड र वडानम्बर ७ मा ८ किलोवाटको सन्थाल सौर्य उर्जा मिनिग्रिड संचालनमा आएको हो ।

गाँउपालिकाको ८ लाख र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी०को ७२ लाख समेत गरेर ८० लाखको लगानीमा परियोजना सञ्चालनमा आएपछि जहदा गाँउपालिका २ वीरपुरका ५० घर र जहदा–७ सिरसियाका ३० घरसमेत गरेर ८० सन्थाल परिवार लाभान्वित भएका छन् ।

१ हजार रुपैयाँ धरौटी राखेपछि ती परिवारहरुले सोलारबाट उत्पादन हुने विद्युत उपभोग गर्न पाएका हुन् । सोलारबाट लाइन जडान गरेका सुकुम्बासी परिवारले प्रतिपरिवार ४ वटा बल र एउटा पंखा चलाउनका साथै रेडियो तथा अन्य विद्युतीय उपकरणसमेत चलाउन पाउने भएका छन् ।

त्यसवापत उनीहरूले २० युनिटको एकसय रुपैयाँ भुक्तान गर्नुपर्ने छ । सौर्य उर्जालाई दीर्घकालीनरुपमा सञ्चालन र व्यवस्थित गर्न सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरिएको छ भने मर्मत–सम्भार र प्राविधिक समस्या समाधान गर्न स्थानीय ४ जना महिलालाई आवश्यक तालिमसमेत दिइएको छ ।

दुईदिनसम्म घाम नलाग्दा पनि निर्वाध विद्युत् आपूर्ति हुनेगरी ब्याकअप रहने परियोजनाका साइट इन्जीनियर ज्ञानेन्द्रकुमार सिंहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *