Sajhamanch Archive

५२ ट्याक्सी चालकलाई कारबाही

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ। भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो। वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिए।

‘ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि कारबाही अभियानलाई तीव्रता दिएको हो’, उनले भने। महाशाखाले ट्याक्सी विशेष जाँचका लागि दैनिक ४० देखि ५० ट्राफिक जनशक्ति सादा पोशाकमा खटाउँदै आएको छ। नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत तीन हजारसम्म जरिवाना गरिने पन्तले बताए।

महाशाखाका अनुसार ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको छ। अधिकांंश ट्याक्सी चालकले ठगी गरेको महाशाखाले जनाएको छ। महाशाखाले चालू आर्थिक वर्षमा मात्र ठगी गर्ने छ हजारबढी ट्याक्सी चालकलाई कारवाही गरिसकेको छ। यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *