Sajhamanch Archive

बाघलाई बोरिङको पानी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

नेपालगन्ज। विश्वमै लोपोन्मुख पाटेबाघ बाँके राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा पाँच गुणा वृद्धि भएको छ । असोज ७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याकंमा बाँकेमा बाघको संख्या २१ पुगेको छ ।

निकुञ्जमा पाटेबाघ वृद्धिमा अहिले पानी बाधक बनेको छ । वर्षातको समयमा निकुञ्जमा जसोतसो आकाशे पानी जम्मा हुने भए पनि हिउँदमा भने वन्यजन्तुका लागि पानी अभाव हुने गरेको छ ।

निकुञ्जको पूर्वीभेगमा सुख्खा क्षेत्र बढी भएकाले वनस्पति पनि सुक्ने गरेका छन् । डिप बोरिङ गाड्न सके निकुञ्जमा डढेलो नियन्त्रण गर्न मद्दत पुग्नेछ । बाघको आहारका रुपमा रहेका मृग, चौका, बँदेलका लागि पनि पानी र चरिचरनको समस्या छ । पानी र घाँसेमैदानको व्यवस्था गरेर निकुञ्जले त्यसको उचित व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

पानीको वैकल्पिक व्यवस्थाका लागि कृत्रिम पोखरी खन्न यस वर्ष मात्रै एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।अन्नपूर्ण पोस्ट् दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *