कांग्रेसमा जिल्ला सभापतिहरूको विद्रोह, विशेष महाधिवेशन बोलाउन बाध्य पार्ने धम्की !
Published: (Updated: )
by .
काठमाडौं । फागुन १२ गते आइतवार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले बहुमतबाट विधान पारित गरेपछि नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका छन् । मंगलवार ५६ जिल्ला सभापतिहरूले कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको निर्णय उल्ट्याएको भन्दै साझा विज्ञप्ति जारी गरेका गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पुसमा सम्पन्न भएको महासमिति बैठककमा अधिकांश महासमिति सदस्यहरूको प्रस्तावअनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्याक्तिलाई दोहोर्याएर अवसर नदिनेसम्बन्धी थप व्यवस्था पास भइसकेको विषयलाई गत फागुन १२ गते बसेको केन्द्रीय समिति बैठकको बहुमतले उल्ट्याएको समाचारले हामीलाई आश्चर्यचकित बनाएको छ ।’
महासमिति भन्दा ठूलो केन्द्रीय कार्यसमिति हुन नसक्ने भन्दै विज्ञप्तिमा आक्रोश पोखिएको छ ।
‘केन्द्रीय समितिले महासमिति बैठकको निर्णय लागू गर्ने हो, उल्ट्याउने होइन । यस्तो कार्यले सभापति जस्तो गरिमामय पदको विश्वसनीयता गुमेको छ,’ विज्ञप्तिमा भनिएको छ ।एक महिनाअघिबाटै कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने/नहुने र समानुपातिकमा कति पटकसम्म अवसर पाउने भन्ने विवाद चल्दै आएको थियो ।रामचन्द्र पौडेल समूहले समेत महासमिति बैठकले पार्टीको केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने र समानुपातिकमा पटक-पटक अवसर दिने व्यवस्था हटाउने निर्णय गरेकाले बहुमतबाट पारित विधान मान्य नहुने घोषणा गरेको थियो ।
सर्वसम्मत हुने आशामा सभापति देउवाले एक महिनासम्म केन्द्रीय समितिको बैठक लम्ब्याए, तर सहमति हुन सकेन । बहुमतले विधान पारित गर्ने निर्णय भएपछि पौडेल र सिटौला समूहका नेताहरूले नोट अफ डिसेन्ट लेखेका छन्।यही विषयलाई लिएर पार्टीका जिल्ला सभापतिहरूले केन्द्रीय सभापति देउवाले पार्टीभित्र मनोमानी गरेको आरोप लगाएका छन् ।’हामीलाई केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने र समानुपातिक ढंगबाट पटक-पटक पदमा जाने व्यवस्था खारेज भयो भनेर भन्दिने तर केन्द्रीय समिति बैठक बोलाएर बहुमतबाट महासमिति बैठकको निर्णय उल्ट्याउने तरिका ठीक भएन,’ नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले लोकान्तरसँग भने, ‘पार्टी कुनै व्याक्ति वा सानो जमातको होइन नि ! नेपाली जनताको पार्टी हो नेपाली कांग्रेस ।”केन्द्रीय समितिले १२ गते महासमिति बैठकमा गरिएको प्रतिबद्धता उल्ट्याउने निर्णय गरेपछि हामी जिल्ला सभापतिहरूसँग ‘को-अर्डिनेसन’मा लाग्यौं,’ केसीले भने, ‘लगभग सबै जिल्ला सभापतिहरूको यही माग छ ।’पाल्पा जिल्ला सभापति वीरबहादुर रानाले पनि केन्द्रीय समितिले बहुमतबाट गरेको निर्णय आफ्ना लागि मान्य नभएको बताए । मंगलवार लोकान्तरसँग कुरा गर्दै रानाले पार्टीको केन्द्रीय समितिले महासमिति बैठकमा देशभरिका सदस्यहरूबीच गरेको प्रतिवद्धता लत्याएको आरोप लगाए ।’हामी तपाइँहरूले उठाएका कुराहरूलाई सम्बोधन गर्छौं भनेर भन्नुभएको हो नेताहरूले,’ रानाले भने, ‘अहिलेचाहिँ आफ्नै प्रतिबद्धताबाट पछि हट्नुभयो ।
‘विशेष महाधिवेशन बोलाउने धम्की !
यदि सभापति देउवाले पार्टीभित्र यस्तै मनोमानी गर्दै जाने हो भने जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन पहल थाल्ने धम्की दिएका छन् ।’यदि पार्टी सभापति शेरबहादुर देउवाले यस्तै मनोमानीपूर्ण निर्णय गर्दै जाने हो भने महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउने तयारी गर्नेछौं,’ नुवाकोट सभापति केसीले भने, ‘विशेष महाधिवेशनबाट अहिलेको पार्टी नेतृत्व बढारिनेछ ।’कांग्रेसको १३औं महाधिवेशनमा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिहरू ३२ सयको हाराहारीमा छन् । तीमध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर पार्टीलाई विशेष महाधिवेशन बोलाउन बाध्य पार्न सक्छन् ।’यही अवस्थामा विशेष महाधिवेशन बोलाउने पक्षमा ५० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधि हुनुहुन्छ,’ केसीले भने, ‘यदि विधान सच्याउन पहल गरिएन भने हामी विशेष महाधिवेशनका लागि तयारी गर्छौं ।’
Comments