Sajhamanch Archive

बालविवाह दर वृद्धि, बालिकाको संख्या बढी

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं। केन्द्रीय बालकल्याण समितिका अनुसार चालू आवको प्रथम चौमासिक अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६ जना बालबालिकाले विवाह गरेको देखिएको छ ।

सञ्चार माध्यममा प्रकाश नभएका बालविवाहका घटना धेरै हुन सक्ने अनुमान गरिएको छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा १० जोडीले उमेर नपुग्दै विवाह गरेका छन् भने दुई बालिकाको विवाह अनमेल ९धेरै उमेर अन्तर०सँग भएको र ३४ जना बालिकाको वयस्क पुरुषसँग भएको उल्लेख छ ।

बालविवाह भएका ५६ जनामध्ये अभिभावकद्वारा २६ जना, भागी विवाह १०, सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै २० जनाको बालविवाह हुने गरेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए ।

बालविवाहलाई लैङ्गिक रुपमा विश्लेषण गर्दा बालक १० जना र बालिका ४६ जना रहेका छन् । कालीकोट जिल्लामा सबैभन्दा बढी २६ जना बालबालिकाको बालविवाह भएको घटना प्रकाशमा आएको छ । बालविवाह गरेका अधिकांश जोडीलाई नेपाल प्रहरीले उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ ।

यस अवधिमा भएका ४६ वटा बालविवाहमध्ये १० वटा नेपाल प्रहरीबाट र चार वटा बालक्लबबाट गरी जम्मा १४ वटा बालविवाह रद्द भएका छन् । सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *