Sajhamanch Archive

राष्ट्रपति भण्डारी आज न्यूयोर्क प्रस्थान गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यु) को ६३ औं बैठकमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिकाको न्यूयोर्क जाँदै छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आज साँझ त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेससले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयकको उच्चस्तरीय बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले सम्भाषण दिनेछिन् ।

उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसंघको सचिवालयका महासचिव एन्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले अन्य मुलुकका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्रसचिव शंकरदास वैरागीलगायत सहभागी छन् ।

राष्ट्रपति भण्डारी चैत १ गते अपराह्न काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *