Sajhamanch Archive

पाँचौं महिला साफ : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

Published: (Updated: ) in खेलकुद by .

विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले चिरप्रतिद्धन्द्वी टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहीद रंगशालामा पूर्वप्रधानमन्त्री एंव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि दिउँसो ३ बजे उक्त खेल सुरु हुने छ ।

पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानलाई पराजित गर्दै नेपाली टोली सुखद सुरुवात गर्ने तयारीमा छ । साफको पाँचौं संस्करणसम्म पुग्दा तीन पटक फाइनल खेलेको नेपाली टोली घरेलु मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि राख्न चाहान्छ ।

सार्क क्षेत्रको शसक्त टिमको रुपमा हेरिएको भारतलाई हिरो वुमन्स कपमा पराजित गरेको नेपाली महिला टोली उच्च मनोबलका साथ मैदान उत्रँदैछ । साफको चौथो संस्करणसम्म भारतकै कारण उपाधिबिहीन नेपालले पाँचौं साफमा बिगतका कमजोरीलाई सच्याउँदै घरेलु मैदानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि राख्ने योजनामा रहेको मुख्य प्रशिक्षक हरि खड्का बताउँछन् ।

सन् २०१०, १२, र १४ मा फाइनल खेलमा भारतसँग स्तब्ध भएको नेपाल २०१६ मा सेमिफाइनल खेलमा भारतसँगै पराजित भएको थियो । तर, एशियन ओलम्पिक छनोटमा भारतसँग बरावरी र हिरो वुुमन्स कपमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको नेपाली टोलीको मनोबल उच्च रहेको खडकाले बताए ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा तीन दशक लामो इतिहास भएपनि नेपाली महिला टोलीले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको एक दशक भयो । सन् २०१० देखि निरन्तर अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सहभागिता जनाइरहेको नेपाली टोली अन्तर्राष्ट्रिय उपाधिबिहीन छ ।

तर, पछिल्ला खेलहरूमा नेपाली टोलीले गरेको प्रदर्शन सुधारिएका कारण उपाधि जित्ने लक्ष्य रहेको मुख्य प्रशिक्षक खड्काले बताए । महिला साफ च्याम्पियनसिपको उद्घाटन खेल भुटानसँग खेल्ने नेपालले समूह चरणको दोस्रो खेल चैत १ गते बंगलादेशसँग खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *