Sajhamanch Archive

विवाहोत्सवमा पाँच परोपकारी संंस्थालाई पाँच लाख रुपैयाँ सहयोग

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

झापा । अमेरिका निवासी झमक कार्की र नारायणी कुँवरकी छोरी सिज्जू कार्कीसँग नेपालमा आएर फागुन २६ गते सौरभ पौड्यालको विवाह भयो । अमेरिकाको बोस्टन सहरमा बस्ने शिवप्रकाश पौड्याल र ज्योत्सना मिश्रका छोरा सौरभको काठमाडौंमा आएर विवाह गरेकोमा चाहिँ समाचार बनाइएको पक्कै होइन । छोराको विवाहका अवसरमा पौडेल परिवारले प्रस्तुत गरेको समाचारयोग्य रचनात्मक कार्यले यसतर्फ पक्कै घच्घच्याएको छ ।

पौडेल परिवारले आफ्नो छोराको विवाहोत्सवका अवसरमा अनाथ एवम् अपाङ्ग बालबालिका तथा वृद्धवृद्धालाई सहारा दिइरहेका नेपालको विभिन्न भूगोलका पाँच संस्थाहरुलाई आर्थिक सहयोग गरेको विषयले अहिले चर्चा कमाएको हो । पौडेल परिवारकी ज्येष्ठ सदस्य ८३ वर्षीया चन्द्रमाया पौड्याल तथा नवदम्पत्ती सौरभ पौड्याल र सिज्जू कार्कीका हातबाट पाँच परोपकारी संस्थाहरुलाई एक–एक लाख रुपैयाँका दरले सहयोग प्रदान गरेको शिवप्रकाश तथा ज्योत्सना मिश्रद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

अत्यन्त भावनात्मक शैलीमा तयार गरिएको वक्तव्यमा भनिएको छ ‘हामीभन्दा टाढा रहेका ती बालबालिका जसले आमाका काख गुमाए, बाबुको काँध गुमाए । जीवनको अर्थ र ज्योति गुमाए । समाजबाट फ्याँकिए, सडकमा आश्रित भए, बेसहारा भए । त्यस्ता बालबालिका जसलाई आमा बनेर कसैले काख दिए, बाबु बनेर कसैले काँध दिए । आमा र बाबु बनेर जीवनको अर्थ दिए । निरास बनेको जीवनमा आश र विश्वास भरिदिएर साहस दिए । अँध्यारोमा डुबेको जीवनमा उज्यालो पोतिदिए । ती समाजसेवीमार्फत हाम्रो परिवार भइरहेको यो खुसीको क्षण ती बालबालिकासम्म पुर्याउन चाहन्छौं । ती बालबालिकालाई सोही संस्थामार्फत प्रेमपूर्ण सहयोग गर्न चाहन्छौं ।’

शिवप्रकाश पौडेल तथा ज्योत्सना मिश्र दम्पत्तीले छोराको विवाहमा ती बालबालिकाको मुहार हसाउने प्रयासस्वरुप चितवन, काठमाडौं र सुनसरीका पाँचवटा संस्थालाई रकम प्रदान गरेका हुन् । जसअनुसार चितवनका तीनवटा संस्था परेका छन् । १६३ जना बालबालिकाको संरक्षण, लालनपालन तथा शिक्षा प्रदान गर्दै आएको कान्दाको लक्ष्मी प्रतिष्ठान, १३२ जना बालबालिकाको संरक्षण गर्ने रत्ननगरको गामवेंसी चेपाङ संरक्षण केन्द्र र २० जना बालिकालाई आश्रय दिइरहेको रत्ननगरकै अनाथ बालबालिकाको सानोघर परेका छन् ।

यसैगरी सुनसरी जिल्लाको ईटहरीमा ३८ जना बालबालिकालाई संरक्षण प्रदान गरिरहेको निःसहाय बालबालिका सेवा आश्रम र सलम्बुटार काठमाडौंको अपाङ्ग बालबृद्धा सेवा गृहलाई पौडेल परिवारले आर्थिक सहयोग गरेका हुन् । ती संरक्षण केन्द्र, आवास एवम् स्याहार केन्द्रमा बेसहारा अनाथ बालबालिका, अपाङ्ग बालबालिका एवम् बेसहारा अपाङ्ग बृद्धबृद्धाहरु रहेको वक्तब्यमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *