Sajhamanch Archive

राजपाद्वारा संसद अवरोध

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले अवरोध गरेको छ।

बुधबार १२ बजे बसेको प्रतिनिधिसभाको बैठकमा राजपाले मधेसी र थारु आन्दोलनमा घटेका घटनाको अध्ययन र अनुसन्धान गर्न गठित सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग राखेको र सभामुख कृष्णबहादुर महराले रुलिङ गर्दासमेत उक्त माग पूरा नभएपछि विरोध गर्नुपरेको बताए। उनले भने, ‘समाभुखको रुलिङपछि पनि गृहमन्त्रीले विषयलाई हल्का ढंगबाट लिएर प्रस्तुत भए।’ तत्कालिन मधेसी मोर्चा र शेरबहादुर देउवा नेतृत्वको सरकारबीच भएको सम्झौता अनुसार २०७३ असोज २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा आयोग गठन भएको थियो।

उक्त कार्यदलले२०७४ माघ २९ सरकारलाई प्रतिवेदन बुझाएको थियो। यादवले राजनीतिक मुद्दालाई अपराधिक जस्तै गरी व्यवहार गरिएको पनि आरोप लगाए। उनले सामाजिक सद्भावमा तिक्तता आएको पनि दाबी गरेका थिए। समाजमा भ्रमको खाडल निर्माण भएको उनको भनाइ थियो। ‘सरकारले हाउगुजी फैलाएर, न्याय क्षेत्रलाई प्रभावमा पारेर, सत्यतथ्य मोडेर गलत गरको छ’, उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ। सरकारले अध्ययन गर्छु भनेको थियो। त्यसपछि आएर सरकारलाई आवश्यक पर्‍यो भने सार्वजनि गर्छु भन्ने कुरा आएको छ। जबसम्म यो प्रतिवेदन सार्जनिक हुँदैन तबसम्म यो हाउस संचालन हुन सक्दैन।’ सभामुखले राजपाका सांसदहरूलाई सभाको कारबाही संचालन गर्न अनुरोध गरे पनि राजपाका सांसद सिटबाट उभिएपछि बैठक स्थगित भएको हो। सभामुखले गृहमन्त्रीलाई उक्त प्रतिवेदनबारे निर्देशन दिइएको पनि जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *