Sajhamanch Archive

जुडो खेलका प्रदेशस्तरीय खेलाडी छनोट

Published: (Updated: ) in खेलकुद by .

मेचीनगर । एक नम्बर प्रदेशस्तरीय जुडो प्रतियोगिता बिहीबार झापाको भद्रपुरमा सम्पन्न भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने प्रदेशस्तरीय खेलाडी छनोटका लागि मङ्गलबारबाट सो प्रतियोगिता सुरु भएको थियो ।

मेची कर्भड हलमा सम्पन्न उक्त प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र सोलुखुम्बु गरी ५ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जिल्लास्तरीय प्रतियोगितामा छनोट हुँदै प्रदेशस्तरीय प्रतियोगिताबाट छानिएका ९ पुरुष र ९ जना महिला खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिनेछन् ।

प्रतियोगिता समापन कार्यक्रममा जुडोमा स्वर्ण पदक प्राप्त गर्ने झापाका ४ पुरुष र ४ महिला खेलाडी नगदराशीसहित पुरस्कृत भएका छन् ।

उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने झापाली खेलाडीहरुमा रमेश मादिहाङ, देवेन्द्र दाहाल, मङ्गलु मेचे, सौरभ श्रेष्ठ, स्वस्तिका सुवेदी, दिलमाया लिम्बू, श्रेया मगर र आशा मेचे छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद् बसन्त बानियाँ, नेपाल जुडो संघका सचिव हेम भण्डारी, संघ झापा अध्यक्ष प्रा.डा. पृथ्वीविक्रम राई, जुडोका संस्थापक खड्गबहादुर दाहाल, जुडोका प्रशिक्षण प्रमुख वीरेन्द्र रञ्जित, झापा खेलकुद विकास समिति प्रशिक्षण प्रमुख टार्जन सुब्बालगायतले पुरस्कृत गरे ।

सो प्रतियोगितामा विभिन्न जिल्लाबाट भाग लिई प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने खेलाडीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको जुडो प्रशिक्षक गंगाबहादुर खड्काले बताए ।

सोही कार्यक्रममा धरानमा सम्पन्न एक नम्बर प्रदेशस्तरीय श्रीमती सौन्दर्य प्रतियोगिताको उपाधि विजेता जुडो खेलाडी रोश्नी राईलाई सम्मान गरियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाको अध्यक्षतामा आयोजित प्रतियोगिता समापन कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *