Sajhamanch Archive

काभ्रे गोलीकाण्ड : विप्लव समूहका धिताल र तामाङ पक्राउ परेको पुष्टि

Published: in राष्ट्रिय समाचार by .

काभ्रेपलाञ्चोक ।रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’ मा गएको प्रहरी टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले मङ्गलबार साँझ साढे ६ बजे काफ्लडाँडामा प्रहरीसँग जम्काभेट हुँदा निजहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबाट फायर भई आक्रमण गर्दा आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड फायर गरेको र फायरपछि समूह भाग्ने क्रममा झापाको मेची नगरपालिका–३ घर भई हाल काठमाडौँको थानकोट ढुङ्गेअड्डा बस्ने ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई गिरफ्तार गरिएको आज जानकारी दिए ।

गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट भई एकको मृत्यु तथा दुई जना घाइते भएको, सोही बेलुका काठमाडाँै कमलपोखरीस्थित आँगन मिठाई पसलमा भएको बम विस्फोट तथा गत फागुन २४ गते बेलुका काठमाडौँको वसुन्धरामा रहेको रोहन गुरुङको घरमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएको घटनाको अनुसन्धानका क्रममा विप्लव माओवादीको संलग्नता भएको देखिएपछि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ स्थित काफलडाँडामा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा धिताल र तामाङलाई गिरफ्तार गरिएको महाशाखाले जनाएको छ ।

राठौरका अनुसार उनीहरुको साथबाट विभिन्न कम्पनीको छ थान मोबाइल, चार थान चार्जर, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र केही दस्तावेज तथा उनीहरुको साथबाटै अन्य तीन थान मोबाइल बरामद गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *