Sajhamanch Archive

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैसाखमा गरेरै छाड्नेः मन्त्री विश्वकर्मा

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखको पहिलो साताबाट सुरु हुने दावी गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति झापाद्धारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले यस्तो दावी गरेका हुन् ।

‘वैशाखको पहिलो हप्ता कट्दैन, उद्घाटनको मिति टुङ्गो लाग्न मात्र बाँकी छ’ उनले भने–‘भौतिक पूर्वाधारको निरीक्षण गर्छौं, त्यसपछि राखेपको बोर्ड बैठकले उद्घाटनको मिति तोक्छ ।’

प्रतियोगितास्थल नेपालगञ्जस्थित बाँके रंगशालामा निर्माणाधिन भिआइपी प्याराफिटमा छानो हाल्ने काम बाँकी रहेकाले ढिलाई भएको मन्त्री विश्वकर्माले बताए ।

‘गत भदौमा शिलान्यासपछि रंगशाला निर्माण कार्य सुरु भयो’ मन्त्री विश्वकर्माले थपे–‘छोटो अवधिमा पूरा गर्नुपर्ने चुनौति सामना गर्नुपर्यो, ३ साताभित्र सम्पन्न गरेरै छाड्छौं, ढुक्क भए हुन्छ, अब मिति फेरिँदैन् ।’

चैतको तेस्रो साताबाट प्रतियोगिता सुरु गर्ने तयारी गरिए पनि भिआइपी प्याराफिटलगायत आवश्यक अन्य निर्माण सामग्री चीनबाट आउन ढिलाई हुँदा मिति परिवर्तन गर्नु परेको उनले स्पष्ट पारे ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समितिका कार्यालय प्रमुख टहलदास मैनाली, करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीलगायतको उपस्थिति थियो ।

इलाममा सम्पन्न माईभ्याली गोल्डकपको समापन समारोहमा सहभागी भई काठमाण्डौं फर्कने क्रममा मन्त्री विश्वकर्मा झापा आएका हुन् ।

त्यसक्रममा उनले जिल्लामा भइरहेका खेलकुद गतिविधि र खेल पूर्वाधारबारे जानकारी लिई मेची रंगशालामा निर्माणाधिन दोस्रो कभर्ड हलको निरीक्षण समेत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *