Sajhamanch Archive

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न मन्त्री बास्कोटाको अनुरोध

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हिसांलाई प्रोत्साउन गर्ने समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गरेका छन् । उनले हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानुन अनुसार कारबाही गर्ने चेतावनीे समेत दिए ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ आंै स्थापना दिवसका अवसरमा काठमाडौँमा शनिबार भएको ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रियामा मन्त्री बाँस्कोटाले ‘हिंसा गर्नका लागि कसैले साथसहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गर्नु पर्ने बताए । उनले भने, ‘सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको छ, त्यस्ता हिंसालाई बल पुग्ने गरी समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हनन भएको मान्ने कि न मान्ने ? ’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि केही सञ्चार माध्यमले विप्लवका गतिविधिलाई बल पुग्ने गरी समाचार दिने गरेको मन्त्री बाँस्कोटाको भनाइ छ । सञ्चार माध्यमको नाम नलिए पनि मन्त्री बाँस्कोटाले त्यस्ता सञ्चार माध्यम ६ वटा रहेको र सरकारले नजिकबाट नियाली रहेको जानकारी दिए । केही दिनअघि विप्लव नेतृत्वको पार्टीलाई कारबाही गर्ने बारेमा पनि नेपली सेनाले असहमति जनाएको बारेमा समाचार प्रकाशित भएकोमा पनि उनले असन्तुष्टि जनाए ।

कञ्चनपुर घटनाका दोषी पत्ता छिटो लगाउन सञ्चारमाध्यमले दबाब दिने कुरा राम्रो भए पनि कसैलाई कसरी समात्यो भनेर प्रश्न उठाउने कुरा राम्रो नभएको मन्त्री बाँस्कोटाले उल्लेख गरे । सामुदायिक रेडियोको नीति तयार पार्दा सामुदायिक रेडियोका अभियन्तासँग छलफल गर्ने प्रतिबद्धता जनाउँदै उनले स्थानीय सरकारले रेडियो चलाउन मिल्दैन भनेर अहिले बहस गर्ने बेला नभएको बताए ।

संविधानले नै त्यो व्यवस्था गरिसकेकाले अहिले संविधान संसोधन गर्ने अवस्था नरहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । सञ्चारमन्त्री बास्कोटाले सामुदायिक रेडियोलाई तीनै तहका सरकारले साझेदार ठानेको जानकारी दिए । नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले संविधानले प्रदेश सरकार र स्थानीय सरकारलाई एफएम रेडियो सञ्चालन गर्ने व्यवस्था गरेकाले यसमा खासै असहमति जनाउन जरुरी नभएको बताए ।

यसैबीच अकोराबले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष रघु मैनालीलाई सम्मान गरेको छ । मैनालीलाई सामुदायिक रेडियोको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । उहाँलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । नेपालमा सामुदायिक रेडियोको विकासका लागि मैनाली दुई दसकभन्दा धेरै समयदेखि सक्रिय छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *