Sajhamanch Archive

दुई तिहाई सरकारले जनमुखी काम गर्न नसकेको नेता सिंहको आरोप

Published: in राजनीति by .

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले देशभित्रकै लगानीकर्ता र उद्योगीलाई हतोत्साही गरिरहेको सरकारले विदेशी लगानी भित्र्याउन अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्नुको कुनै अर्थ नहुने बताएका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका नेता सिंहले सरकारले आगामी चैत १६ गतेदेखि गर्न लागेको लगानी सम्मेलनप्रति टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन् । देशमै भएको कुरा सम्हाल्न नसक्ने सरकारले विदेशी लगानी भित्र्याउन नसक्ने भन्दै उनले विगतमा गरिएको लगानी सम्मेलनमा आएको प्रतिबद्धता अनुरुप देशमा लगानी भित्रिन नसकेको धारणा राखे ।

दुईतिहाई बहुमतप्राप्त सरकारले जनपक्षीय काम गर्न र सरकार छ भन्ने अनुभूति जनतालाई दिलाउन नसकेको भन्दै नेता सिंहले वर्तमान सरकार विधिको शासनबाट नचलेको र सरकारले हत्या, हिंसा वलात्कारजस्ता सामाजिक अपराधमा संलग्नलाई संरक्षण गरेको आरोप लगाए ।
केन्द्र, प्रदेश र स्थानीय निकायमा समेत कम्युनिष्ट पार्टीको वहुमत देखिएपनि तीनै तहका सरकार निर्वाचनताका गरेका कुनै पनि प्रतिबद्धता पूरा नगरेको बताउँदै सिंहले प्रश्न गरे–‘खै एक बर्षको अवधिमा सरकारले के ग¥यो ?’ कानून निर्माणमा समेत सरकारले ढिलाई गरेको भन्दै उनले सरकार आर्थिक सामाजिक रुपमा असफल भइसकेको टिप्पणी गरे ।

नेतृत्वले विधिसम्मत तरिकाले कांग्रेस पार्टी चलाउन नसकेको भन्दै उनले पार्टीलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था र समानुपातिक सिटमा एकै ब्यक्तिलाई आरक्षण दिइरहने प्रवृत्तिको अन्त्य अनिवार्य भएको उनको भनाई थियो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेले देश विखण्डनको मुद्धा बोक्ने सि.के राउतसँग विवादास्पद सम्झौता र विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर सरकारले देश विखण्डनतर्फ लैजान लागेको आरोप लगाए ।

बहुमतीय सरकारले प्रतिपक्षी आवाजको सम्मान गर्नुपर्नेमा बहुमतको दम्भका कारण वर्तमान सरकारले प्रतिपक्षीलाई गुमराहमा राखेर दुप्रै देशघाती निर्णय गरेको दावी गरे ।

अर्का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानीले प्रधानमन्त्रीले आदर्शको कुरा गरे पनि ब्यवहार ठिक विपरित भएको बताउँदै भ्रष्टचारीलाई कारबाही गर्न नसकेको धारणा राखे । ‘सरकार यही गतिमा हिंडे पाँचवर्ष पनि टिक्दैन’ भन्दै नेता थानीले प्रजातन्त्र जोगाउने शक्ति कांग्रेसमा मात्रै रहेको दावी गरे ।

कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट प्रमुख सचेतक सरिता प्रसाईले आदेशका भरमा सेना चलाउन सकिने प्रावधानसहितको सुरक्षा सम्बन्धि विधेयक सरकारका तर्फबाट संसदमा पेश भएको जानकारी दिदै यो लोकतन्त्रका लागि खतरनाक भएकोले प्रतिपक्षीले विधेयकका विपक्षमा जोडदार आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस काठमाडौका सभापति सुवोद बानिया, पाँचथर सभापति नरेन्द्र केरुङ, सभाषद महेन्द्राकुमारी लिम्बू, पूर्व सांसद डिल्ली सिटौलालगायतले बोलेका थिए ।

कांग्रेस झापाका उपसभापति राम कट्टेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव ताराविर कटुवालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *