Sajhamanch Archive

सरकारले संविधानको मर्म विर्सिएको नेता सिंह आरोप

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले–‘निर्वाचन अघि कांग्रेसले जनता समक्ष भनेकोे जनवादी सत्ता लादिन्छ भनेको थियो अहिले क्रमशः सरकार त्यतैतिर लम्किरहेको बताए ।

मन्त्रालय, संवैधानिक आयोग लगायतका निकायलाई ‘प्रधानमन्त्रीले आफूमा शक्ति सञ्चय गरेर शक्तिशाली बन्न खोजेको बताउँदै’–सिंहले भने–‘सम्पत्ति सुद्धिकरण आयोग प्रधानमन्त्रीकै मातहतमा ल्याउनु, संसदमा पेश गरिएको सुरक्षा ऐनमा उल्लेखित आदेशका भरमा सेना परिचालन गर्नसक्ने ब्यवस्था गर्न खोज्नु, प्रदेश र स्थानीय तह सुहाउँदो कानून बनाउन आलटाल गर्नुले लोकतन्त्रमाथि जोखिम देखिएको छ ।’ लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता सुरक्षित हुने भन्दै सिंहले यसका लागि मिसन पत्रकारिता आवश्यक रहेको बताए ।
‘ओली नेतृत्वको सरकारले बहुमतको दम्भमा संविधानको मूल मर्म विर्सिएको छ’ आरोप लगाउँदै नेता सिंहले संविधान अनुरुप लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सरकारले तदारुकता नदेखाएको धारणा राखे ।

‘सरकारले ठूल्ठूला कुरामात्रै गरिरहेको छ’–सिंहले भन्ने–‘आफ्नै सरकारले छुट्याएको विकास बजेट खर्चन नसक्नु सरकारको असफलता हो ।’ सरकारी लगानीकर्ता र उद्योगी÷ब्यवसायीलाई हतोत्साही गर्दै लगानीको वातावरण नबनाएको सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्नुको अर्थ के ? भन्दै सिंहले सरकारलाई प्रश्न थियो ।

सशस्त्र द्वन्द्वमा रहेको विप्लब नेतृत्वको पार्टीलाई प्रतिबन्ध गर्नु उचित नभएको बताउँदै उनले वार्ता, संवाद र सहमतिबाटै समस्या समाधान गर्न सरकारलाई सुझाव दिए । सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा माओवादीलाई कांग्रेसकै नेतृत्वमा सहमतिमार्फत संसदीय राजनीतिक पद्धती ल्याएको उदाहरण प्रस्तुत गर्दै उनले विप्लबसँगको समस्या पनि वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

फरक प्रसङ्गमा नेता सिंहले नरम बोल्दा समाचारको विषयबस्तु नबन्ने र कडा बोल्दा प्रेसले आफू अनुकूल प्रस्तुत गरिदिदा विवाद निम्तिने गरेको बताउँदै गम्भिर राजनीतिक मुद्दामा संवेदनशिलता बुझेर मात्रै प्रस्तुत गरिदिन आग्रह गर्दै केही दिन अघि पार्टी महामन्त्री शशांक कोइरालाले धर्मका विषयमा दिएको अभिव्यक्ति व्यक्ति भएको स्पष्ट पार्दै पार्र्टीको आधिकारीक धारणा नभएको बताए ।

परिवर्तनका लागि जनताले गरेको आन्दोलनका कारण प्राप्त उपलब्धीका बारेका कांग्रेस पछाडि फर्कन नसक्ने सिंहको प्रष्टोक्ति थियो ।
संस्थागत रुपमा विधिसम्मत तरिकाले पार्टी चलाउनु कांग्रेसभित्रको चुनौति रहेको बताउँदै नेता सिंहले विधि, प्रक्रिया र पद्धति मिच्ने अधिकार कसैलाई नहुने धारणा राखे ।

नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय सरिता प्रसाई, हृदयराम थामी, नेपाली कांग्रेस झापा सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, काठमाडौं सभापति सबुध बानिया, पाँचथर सभापति नरेन्द्र केरुङ, झापा कोषाध्यक्ष केशवराज पाण्डे, ट्रेड युनियन केन्द्रीय सदस्य उर्मिला ढकाल, झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, क्षेत्रीय सभापतिहरु मणि उप्रेती, खगेन्द्र मैनालीलगायतको उपस्थिति रहेको थियो ।

प्रेस युनियन झापा सल्लाहकार राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *