Sajhamanch Archive

बैशाखदेखि हालसम्म प्राकृतिक विपदका घटनामा २ सय ६४ को मृत्यु, २१ सय १७ घाइते

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । गत बैशाखदेखि हालसम्म प्राकृतिक विपत्तिका ९ सय ६८ घटनामा २ सय ६४ को मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालनका केन्द्रका अनुसार बाढी पहिरो, चट्याङ, आगलागी, लेक लाग्ने, हावाहुरी जस्ता प्राकृतिक विपतका कारण सो क्षति भएको हो ।

७५ दिनको यो अवधिमा प्राकृतिक विपत्तिबाट २ हजार १ सय १७ घाइते भए भने २ हजार ५ सय १६ घर प्रभावित भएका छन् । यो अवधीमा भएको विपक्तिबाट ६ सय ५६ घरमा पूर्ण क्षति भएको छ भने ६ सय ११ घरमा आंशिक क्षति भएको छ । यस्तै १ सय ५९ गोठमा क्षति पुगेको भने १२ सय ६५ पशुचौपायाको क्षति भएको छ । यसबाट अनुमानित ६५ करोड, ६ लाख १५ हजार ६ सय ८२ रुपैँयाको आर्थिक क्षति भएको केन्द्रले जनाएको छ ।

कुन घटनामा कति क्षति ? 
गएको बैशाख १ गतेदेखि असार १४ गतेसम्मको प्राकृतिक घटनामा भएको क्षतिलाई हेर्दा चट्याङबाट सबैभन्दा धेरै क्षति भएको छ । त्यसपछि बाढीपहिरोका कारण ज्यान गुमाउने धेरै छन् ।

गएको बैशाखदेखि हालसम्म बाढीबाट ८ जनाको मृत्यु भएको छ भने १ बेपत्ता र २ घाइते  भएका छन् । बाढीबाट २१ घर प्रभावित भएका छन् भने २७ पशुचौपायाको क्षति भएको छ । २ करोड ४० लाख हाराहारीको क्षति भएको छ ।

यस्तै पहिरोको ५३ वटा घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता, १६ घाइते भएका छन् । १९ घरको पूर्ण क्षति भएको छ भने ७ घरको आंशिक क्षति भएको छ । यो अवधीमा पहिरोबाट ८८ घर प्रभावित भएका छन् । ७ पशुचौपायाको क्षति भएको छ । ७६ लाख ९० हजार बराबरको आर्थिक क्षति भएको छ  ।

बैशाख देखि हालसम्म चट्याङ र आँधीका १ सय १८ घटनामा ३५ जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन् । यसबाट १ सय ७५ परिवार प्रभावित भएका छन् ।  ४ घरमा आंशिक क्षति पुगेको छ भने ४ घर र ७ गोठ पूर्ण क्षति भएको छ । ८५ पशुचौपायाको क्षति भएको छ । यो प्रकोपबाट अनुमानित ४४ लाख ७७ हजार क्षति भएको केन्द्रको आंकडा छ ।

यस्तै हावा हुरीका १ सय २४ घटनामा १४ जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन् । यो प्रकोपबाट ८ सय ४२ घर प्रभावित भएका छन् र हावाहुरीबाट ५ सय १८ घरमा आंशिक क्षति पुगेको छ भने २ सय ७५ घर पूर्ण क्षति भएको छ ।  २० गोठ र ६ पशुचौपायाको क्षति भएको छ । यसबाट अनुमानित ३ करोड १० लाख ६ हजार आर्थिक क्षति भएको छ ।

यस्तै गत बैशाखदेखि हालसम्म भएको भारी बर्षाका कारण भएका १७ घटनामा २ जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् । यसबाट ८ घरमा आंशिक क्षति र ८ घरमा पूर्ण क्षति भएको छ । यस्तै ६४ पशु चौपायाको क्षति भएको छ । यसबाट अनुमानित ८० लाख २५ हजार रुपैया क्षति भएको छ । यस्तै ७५ दिनको सो अवधीमा लेक लागेको १३ घटनामा १२ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका थिए ।

मनशुनमा बाढी पहिरोजस्ता प्राकृति विपत्तिका घटना बढ्नेतर्फ मध्यनजर गर्दै गत असार ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । सो बैठकले विपत ब्यवस्थापनका लागि सम्पूर्ण सरकारी निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।

बाढी पहिरो प्रभावितका लागि राहत तथा उद्धार गर्न प्रत्येक प्रदेशमा आवश्यक उपकरण र सामग्री भण्डारण गर्न निर्देशन दिएको थियो भने सुर्खेत, पोखरा र इटहरीमा उद्धारका लागि हेलिकोप्टर तयारी हालतमा राख्न निर्देशन दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *