Sajhamanch Archive

नेताको फुटबल मोह

Published: in खेलकुद by .

सधैंभरि राजनीतिक खेलमैदानमा दौड्ने नेपालका नेताहरूलाई पनि विश्वकपको ज्वरोले छोएको छ । राजनीतिक भेटघाटदेखि राज्यको नीति बनाउने तथा संसद्मा जनताका कुरा उठाउनसम्म समय दिनुपर्ने बाध्यता पनि छ । व्यस्त दैनिकीबाट समय निकालेर विश्वकपका कुनै न कुनै खेल हेर्ने फुर्सद निकालेकै छन् नेपाली नेताहरूले । अधिकांश नेताले बाल्यकालमा फुटबल खेलेको बताए पनि राजनीतिमा लागेपछि राजनैतिक खेलले जितेको अनुभव सुनाए । उनीहरूले विद्यार्थीकालमा मोजामा कागज हालेर फुटबल खेल्दाको अनुभवदेखि खुट्टा मर्किएकोसम्मका संस्मरण  सुनाउन भ्याए ।फुटबल मन नपराउने मानिस कमै होलान् । मलाई पनि फुटबल खुबै मन पर्छ । गाउँमा हुँदा हामी खुब फुटबल खेथ्यौँ  । मैले खेलमा धेरै गोल पनि गरेको छु । गोल गरिसकेपछि आफ्नो सान नै अर्कै हुन्थ्यो । गाउँ छोडेर जब काठमाडौं आइयो त्यसपछि फुटबल खेल्न पाइएन । राजनीतिक खेलकुदमा नै बढी ध्यान जान थाल्यो । राजनीति गर्ने मानिसको फुर्सद हुनै गाह्रो हुँदोरहेछ । राजनीतिमा लागेपछि फुटबल मात्र होइन, अन्य खेलकुदमा पनि ध्यान जाँदो रहेनछ । समय व्यवस्थापन गर्नै गाह्रो हुन्छ । अहिले विश्वकप चलिरहेको हुँदा त्यसले मलाई नछुने कुरै भएन । कार्यव्यस्तताले सबै खेल हेर्न पाएको छै्रन । दिउँसो हाइलाइट देखाउँदा बाहिर नै भइन्छ । राति गलेर घर पुगेपछि खेल हेर्ने जाँगर नै बाँकी रहँदैन । तथापि यसपल्टको विश्वकप मिलेसम्म हेर्दै आएको छु । मेरो यो टिम त्यो टिम भन्ने छैन सबै जित्ने टिमले राम्रो खेलेका छन् । राम्रो खेल भएर नै उनीहरू विश्वकपमा पुगेका हुन् । त्यसमा पनि ब्राजिल, स्पेन तथा पोर्चुगलको खेल राम्रो छ । सबै गेम हेर्न नपाएका कारण पूरै खेल तथा खेलाडीका बारेमा चाहिँ केही भन्न सक्दिन । अब सेमिफाइनलदेखि चाहिँ समय मिलाएर हेर्ने विचार गरेको छु । फाइनल चै पक्कै हेर्छु । यो वर्ष कुन देशले जित्छ भन्ने कुरा भन्न सक्दिनँ ।

राजेन्द्र महतो, अध्यक्ष–मण्डल सदस्य, तमलोपा

सानो हुँदा न फुटबल ग्राउन्ड थियो न हामीले फुटबल नै पाउँथ्यौं । त्यसैले फुटबलसँगका पुराना सम्झना त्यति छैनन् । थाङ्ना (फाटेको कपडा) को ठूलो भकुन्डो बनाएर खेलिन्थ्यो । न फिल्ड थियो, न फुटबल थियो । भलिबल पनि स्कुलमा हामीभन्दा ठूलाहरूले खेल्थें, उनीहरूको कब्जामा ए र बी टिम हुन्थ्यो, हामी सानाहरू सी टिममा पथ्र्यौं । त्यसैले स्कुलमा भएको एउटा मैदान पनि उनीहरूकै कब्जामा हुन्थ्यो । भलिबलका लागि ब्लाडर किन्ने पैसा पनि हुँदैनथ्यो, पहाड भएकाले जोडजाड गरेर किनेको ब्लाडर पनि काँडाले घोचेर फुट्थ्यो ।

यद्यपि अहिले फुटबलप्रति रुचि छ । खेलहरू हेर्छु, सुरुको खेलमा त्यति रुचि भएन । म अर्जेन्टिनाका स्टाइकर लियोनल मेसीको फ्यान हुँ । यसपटक मेसीले गोल नै हान्न सकेका छैनन्, तैपनि मेरो समर्थन अर्जेन्टिनालाई नै छ । अर्जेन्टिनाले राम्रो गर्छ भन्ने विश्वास अझै पनि भएकाले मैले उनको प्रदर्शनको विरोध पनि गरेको छैन । मेसीलाई मैदानमा विपक्षीहरूले कडा घेराबन्दी गरेर हैरान पारेका छन् ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ४ गोल हानिसके, पोर्चुगल आक्रमक देखिएको छ । ब्राजिल पनि आक्रामक नै छ । इंग्ल्यान्ड र बेल्जियम पनि उत्तिकै आक्रामक छन् । जर्मनी पनि ठीकै छ, तर आफूले समर्थन गरेको अर्जेन्टिनाले नजितेका कारण उति रमाइलो भैरहेको छैन । व्यक्तिगत रूपमा क्रिस्टियानो रोनाल्डो प्रभावशाली देखिएका छन् । ब्राजिलका खेलाडीहरूले सबैभन्दा राम्रो फुटबल कौशल देखाइरहेका छन् । पोर्चुगलले पनि छरितो फुटबल खेलिरहेको छ । एसियाबाट जापान अघिल्लो चरणमा जाने आशा छ । यस पटकको विश्वकप पुराना भन्दा पनि नयाँले लान्छन् जस्तो लाग्छ मलाई ।

         जनार्दन शर्मा, नेता, नेकपा

केटाकेटी अवस्थामा हामी निकै फुटबल खेल्थ्यौं । १० कक्षासम्म त खुबै खेलियो । त्यसपछि कलेजमा आएर पनि अलि–अलि फुटबल खेलियो । फुटबल सबैले खेल्ने खेल हो, साथीहरू पाइहालिन्थ्यो । हामी बासको पोल लगाएर फुटबल खेल्थ्यौं । इँटामाथि ढुंगा राखी गोलपोस्ट बनाएर पनि फुटबल खेलिन्थ्यो । मलाई बाल्यकालमा फुटबल खेलेका कुरा अहिले पनि ताजै लाग्छन् । म प्राय:जसो डिफेन्समा बसेर खेल्थें ।

अहिले जारी विश्वकप फुटबल भने मैले कमै हेरिरहेको छु । नियमित रूपमा हेर्ने बानी छैन । कुनै खेल चित्त बुझ्यो भने हेरी पनि हाल्छु । नकआउट चरणदेखि भने सबै खेल हेर्ने योजना बनाएको छु ।

मलाई यसपटकको विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल प्रभावशाली लागेको छ । उनी एक्लैको प्रयासमा टिमलाई अघि बढारहेका छन् । मलाई यसपटकको विश्वकपमा सबैभन्दा आकर्षित गर्ने खेलाडी पनि क्रिस्टियानो रोनाल्डो नै हुन् ।

म विश्वकपमा यही नै देशको खाँटी फ्यान हुँ भन्ने छैन, राम्रो गर्ने टिम मन पर्छ । वास्तवमा नेपालमा ब्राजिलका समर्थक बढी देखिन्छन् । म पनि पहिले ब्राजिलकै समर्थक थिएँ तर यस पटक कता–कता पोर्चुगलले विश्वकप जितिदेओस् भन्ने लागेको छ अर्थात् मलाई पोर्चुगल पनि मन परेको छ । यद्यपि फुटबल हो, अहिले नै यसैले विश्वकप जित्छ भन्न सकिने अवस्था छैन । लिग चरणका खेल सकिएपछि मात्र कसले विश्वकप जित्छ बल्ल भन्न सकिएला ।

मीनेन्द्र रिजाल

                                                                           नेता, नेपाली कांग्रेस

सानो छँदा खुबै फुटबल खेलिन्थ्यो । खेल खेलेपछि गोल नहान्ने त कुरै भएन । फुटबल मात्र होइन भलिबल, टेबलटेनिस आदि खेल पनि खेलियो तर फुटबलको जति मज्जा अरू खेलमा हुँदैनथ्यो । म अग्लो भएका कारण प्राय: किपर बस्थे । लामो खुट्टा भएका कारण धेरै दौडन सक्छ भनेर कहिलेकाहीँ फरवार्ड पनि खेलाउँथे । यद्यपि मैले लामो समयदेखि फुटबल खेल्न पाएको छैन, तर विश्वकप हेर्न भने छुटाउँदिनँ । संसद् भएका बेला र अन्य कार्यक्रम नभएका बेला विश्वकप हेर्न छुटाउँदिनँ । प्राय: गरेर दोस्रो खेल छुटाउँदिन । राम्रो टिमको खेल छ भने तेस्रो खेल पनि हेर्छु । अहिलेसम्म मैले हेरेका खेलमध्ये पोर्चुगल र स्पेनको खेल सबैभन्दा राम्रो लागेको छ । उक्त खेल राम्रो लाग्नुको कारण दुवै टिमले धेरै गोल हान्नु हो त्यो पनि आक्रामक रूपमा । फुटबलमा थोरै समयको अन्तरमा दुवै टीमले धेरै गोल गरे भने मज्जा आउँछ । यी दुई देशको खेलमा पनि दुवै टिमले ३–३ गोल हाने हेर्न खुव रमाइलो भएको थियो ।

मलाई मन पर्ने खेलाडी पोर्चुगलका रोनाल्डो नै हुन् । अझ उक्त खेलमा ह्याट्रिकसहित ४ गोल हानेपछि रोनाल्डो त झन राम्रा लाग्ने नै भए । यो विश्वकपपछि पुराना स्टार खेलाडीलाई नयाँ खेलाडीले पालो दिने छाँटकाँट देखिएको छ । त्यसको सुरुवाती छाँटकाँट बेल्जियमका रोमेलु लुकाकु तथा ह्याजाड केनले देखाइसकेका छन् । मलाई मन पर्ने टिमचाहिँ ब्राजिल हो, मन पर्ने टिम नै ब्राजिल भएपछि विश्वकप कसले जित्ला भन्ने प्रश्नमा म अरू देशको नाम लिन्छु होला त ? यद्यपि नयाँ देश आउन सक्ने सम्भावना पनि छ । यदि नयाँ देश आए मेक्सिको र क्रोएसिया त्यसका प्रबल दाबेदार हुन् ।

 विरोध खतिवडा

                                                         नेता, नेपाल कम्युनिस्ट पार्टी 

हामी त फुटबल खेलेरै हुर्किएका हौं । मैले सोसल योङ स्पोटर््स क्लबबाट ‘बी’ डिभिजन फुटबल पनि खेलें । त्यतिबेला हाम्रो टोल नै फुटबल खेल्ने टोल थियो । अझ मैले त फुटबल खेलाडी नै बन्ने सपना पालेको थिएँ । उतिबेला काठमाडौंमा जताततै चौर थियो, हामी घर छेउकै चउरहरूमा फुटबल खेल्थ्यौं । गौचरन पनि नजिकै थियो, त्यहाँ गएर पनि खेल्थ्यौं हामी ।

स्मरणीय कुरा के भने दशरथ रंगशालामा मैले गोल गरेपछि पहिलो पटक मेरो नाम पत्रिकामा छापिएको थियो । यो २०५१ सालतिरको कुरा होला, पत्रिकामा नाम छापिएपछि मैले त्यसको कटिङ आफ्नो कोठामा सजाएर राखेको थिएँ । अहिले पनि म फुटबल भनेपछि हुरुक्कै हुन्छु । त्यसैले विश्वकपका लगभग सबै खेल हेरिरहेको छु । अर्जेन्टिनाको गेम घरबाहिर साथीहरूसँग हेरें । अरू सबै गेम घरमै हेरिरहेको छु । क्वाटर फाइनल तथा सेमिफाइनलका खेलहरू साथीहरूसँग बाहिर हेर्ने योजना बनाएको छु ।

म ब्राजिलको डाइहार्ट समर्थक हुँ । पहिलो खेलमा ब्राजिलको खेल देखेर एकदमै निराश भएको थिएँ, तर दोस्रो खेलमा उल्लेखनीय सुधार देखियो । पहिलो खेलमा पराजित भएका बाबजुद जर्मनीले दोस्रो खेल हातबाट फुस्किएको अवस्थामा आफ्नो पक्षमा पार्‍यो, उसको आत्मबल एकदमै बढेजस्तो लाग्छ । इंग्ल्यान्डले पनि ठूलो गोल अन्तरले पानामालाई पराजित गर्‍यो, यो पनि बलियो देखिएको छ । पोर्चुगलको टिम कमजोर भएपनि रोनाल्डोले आफ्नो प्रभावमा टिमलाई ठीक ठाउँमा राखिरहेका छन् । विश्वकपअघि बेल्जियम र स्वीजरल्यान्डको त्यति वास्ता गरिएको थिएन, तर उनीहरू दुवै एकदमै लयमा छन् ।

यसपालिमा व्यक्तिगत रूपमा पोर्चुगलका रोनाल्डो नै प्रभावी देखिएका छन् । विश्वकप सुरु हुनुपूर्वका खेलका आधारमा मेस्सीको खेलले आकर्षित गर्ला भन्ने थियो, तर उनी कमजोर देखिए । यसपटकको विश्वकप ब्राजिलले नै जित्छ कि ? किनभने ब्राजिलको टिम स्ट्रोङ छ ।

  गगन थापा

                                                                         नेता, नेपाली कांग्रेस 

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *