Sajhamanch Archive

शैक्षिक जागरणका लागि मेची–महाकाली पैदल यात्रामा निस्कदै शिक्षक पौडेल

Published: in राष्ट्रिय समाचार by .

सुरुङ्गा । शिक्षकहरुको पहिचान, एकता, अधिकार र सम्मान शैक्षिक जागरणका अभियान’ भन्ने नाराका साथ झापाका एक शिक्षक मेची–महाकाली पैदल यात्रामा निस्कने भएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ७ लालपानी माध्यमिक विद्यालयका शिक्षक प्रकाश चन्द्र पौडेलले आफु मेची–महाकाली पैदल यात्रामा निस्कन लागेको पत्रकार सम्मेलन गरी जानकारी दिए । उनको यात्रा असार २३ देखि काकरभिट्टाबाट शुरु हुने भएको छ । पौडेल प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक हुन् ।

पौडेलले साथमा नेपालको राष्ट्रिय झण्डा र नेपाल शिक्षक महासंघको झण्डा लिएर यात्रा गर्ने जानकारी दिए । उनले यात्राका क्रममा विभिन्न स्थानमा भएका शिक्षकहरु र सुरक्षाकर्मीहरुसँग समन्वय गर्दै यात्रा पुरा गर्ने जानकारी दिए ।

शिक्षकहरुलाई १३ भन्दा बढी श्रेणीमा विभाजन गर्ने, शिक्षण पेशालाई मर्यादित नबनाउने परिपाटीको अन्त्य गर्ने र पेशागत हकहितका लागि सबै शिक्षक एकताबद्ध हुनुपर्ने सन्देश दिनका लागि आफूले पैदलयात्रा शुरु गर्न लागेको बताए ।

आफै पनि अपांगता भएकाले उनले अपांगता भएका शिक्षक र विद्यार्थीका लागि राज्यले विशेष सहुलियत दिनुपर्ने सन्देश पनि दिने पैदलयात्राको लक्ष्य रहेको बताए ।

मेची–काली यात्राका सम्बन्धमा नेपाल शिक्षक महासंघ, जिल्ला प्रशासन कार्यालय झापा, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र सुरक्षाकर्मीलाई जानकारी गराइसकेको उनले जानकारी दिए।

शिक्षा समन्वय एकाई भद्रपुरबाट पैदलयात्राका लागि सहमति लिइसकेको उनले बताए । शुक्रवार कनकाई सृजना क्लबले लालपानी बजारबाट उनलाई औपचारिक विदाई गर्ने कार्यक्रम रहेको छ । पत्रकार भेटघाटमा कनकाई सृजनशील क्लबका अध्यक्ष जीवनकुमार ढकाल, नेपाल शिक्षक महासंघ झापाका सह–अध्यक्ष छबिलाल दवाडी, शिक्षक नगेन्द्र सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *